समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले ज्येष्ठ नागरिक मञ्च नगरस्तरीय समन्वय समिति गठन गरेको छ । हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाले आइतबार एक भेलाको आयोजना गरेर हेटौँडा–२ का रामचन्द्र ढकालको अध्यक्षतामा १५ सदस्यीय नगर समन्वय समिति गठन गरिएको हो ।

समन्वय समितिको उपाध्यक्षमा हेटौंडा–१७, हटियाका रामबहादुर नेपाली, सचिवमा हेटौंडा–४ की चन्द्रकान्ता श्रेष्ठ र कोषाध्यक्षमा हेटौँडा–३ की मेनुका पौडेल चयन हुनुभएको छ । वडाबाट प्रतिनिधि चयन गरेर नगरस्तरीय समन्वय समिति गठन गरिएको हेटौँडा उपमहानगरपालिकाको महिला तथा बालबालिका महाशाखाकी निर्देशक विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाको अध्यक्षता तथा नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा ज्येष्ठ नागरिकको भेला भएको हो ।

बैठकसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या र हेरचाहका साथै ज्येष्ठ नागरिकको परिचय र हक अधिकारको विषयमा अभिमुखीकरण गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाले २०७६ सालमै ज्येष्ठ नागरिक मञ्च गठन तथा परिचालन कार्यविधि तयार गरिएको थियो । २०७८ सालमै नगरका १९ वटै वडामा ज्येष्ठ नागरिक मञ्च वडा समन्वय समिति गठन गरिसकिएको थियो । नगर र वडामा गठन गरिएको ज्येष्ठ नागरिक मञ्च समन्वय समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

हेटौँडा उपमहानगरपालिकाले वडामा ज्येष्ठ नागरिकका लागि दिवा केन्द्र सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ । छिट्टै हेटौँडा उपमहानगरपालिका २ नम्बर वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको निर्देशक लामिछानेले जानकारी दिनुभएको छ । वडा नम्बर ७, ८ र १० मा पनि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ ।