हेटौंडाः स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समीक्षा सुरु भएको छ । दुई दिने समीक्षा कार्यक्रमको पहिलो दिन आइतबार ३ वटा पालिकाको समीक्षा सम्पन्न भएको छ । आइतबार वनस्खण्डीको सभा हलमा भएको कार्यक्रममा पहिलो दिन थाहा नगरपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को समीक्षा प्रस्तुत गरेको स्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन विष्णु रिमालले जानकारी दिनुभयो ।
रिमालका अनुसार सोमबार ७ वटा पालिकाले समीक्षा पेश गर्ने छन् । पालिकाहरुले गत आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमको प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८०/८१ को योजना पेश गरेका छन् । समीक्षा कार्यक्रम सम्पन्न गर्न हरेक पालिकाहरुले चालु आर्थिक वर्षको योजना पेश गर्नुपर्ने छ । आईतबार भएको समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको अध्यक्षता रहेको थियो । यस्तै, समीक्षा कार्यक्रममा १० वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य निर्देशनालयका फोकल पर्सन र कम्युनिटीट नर्स अधिकृत सिर्जना पन्तको उपस्थिति रहेको रिमालले बताउनुभयो ।