थाहा नगरको भलिबल टिम ।

हेटौंडाः दोलखाको जिरीमा आइतबार बिहान सम्पन्न बागमती प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिकाको भलिबल टिम उपविजेता भएको छ । भरतपुर महानगरपालिकाको टिमसँग ३–१ सेटमा पराजित हुँदै थाहा उपविजेता बनेको हो ।

पहिलो र दोस्रो सेट १९–२५ र २२–२५ ले गुमाएको थाहाले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट १७–२५ ले गुमाएसँगै थाहा उपविजेतामा सीमित बनेको हो । थाहा नगरले नगद एक लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपाधि विजेता भरतपुर महानगरपालिकाले एक लाख ५१ हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा थाहा नगरका उज्जवल लामा उत्कृष्ट डिफेण्डर घोषित भएका छन् । प्रतियोगितामा भरतपुर महानगरका मनिष मानन्धर उत्कृष्ट खेलाडी घोषित हुँदा नवीन महतो (पुतली) उत्कृष्ट स्पाइकर घोषित भए । दुर्गा बहादुर खड्का उत्कृष्ट व्लकर घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

शनिबार भएको सेमिफाइनल खेलमा लिखु तामाकोशी गाउँपालिकालाई ३–२ सेटले हराउँदै थाहा फाइनलमा प्रवेश गरेको थियो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थाहा नगरले सिन्धुलीको कमलामाई नगरपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । थाहा नगरको टिम लिएर नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने जिरी पुग्नुभएको थियो । मकवानपुरको थाहा नगरपालिका भलिबल खेलका लागि उर्वर क्षेत्र मानिन्छ ।