धान चुट्दै विद्यार्थी ।

हेटौँडाः हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनका विद्यार्थीले यो साता धान चुटेका छन् । विद्यालयले विद्यार्थीलाई खाद्यान्न बालीको उत्पादन चक्रका बारेमा जानकारी गराउने उद्देश्यले गत असार महिनामा धान रोपाइँ कार्यक्रमको आयोजना गरेको थियो । विद्यार्थी, शिक्षकले विद्यालयकै स्वामित्वमा रहेको एक कठ्ठा जमिनमा धान रोपाइँ गरेका थिए ।

धान रोपाइँपछि धान गोड्ने, मल हाल्ने, औषधी छर्ने, धान काट्ने, धान चुट्ने, र अन्तिममा धान भित्र्याउने काममा पनि विद्यार्थीलाई नै परिचालन गरेको विद्यालयका अध्यक्ष सुदीप राज गिरीले जानकारी दिनुभएको छ । औषधिको मात्रा मिलाएर छर्न नसकेका कारण धान बालीमा क्षति पुगेकोले करिब १५ पाथी मात्रै धान उत्पादन भएको गिरी बताउनुहुन्छ ।

धान चुट्दै विद्यार्थी ।

सामान्यतः विद्यालयले रोपाइँलाई मात्रै प्राथमिकता दिँदै आएकोमा मकवानपुर बालविद्या सदनले भने धानबालीको सिंगो प्रक्रियालाई नै आत्मसाथ गरेको छ । आगामी वर्ष धानको व्याड राख्ने चरणबाटै विद्यार्थीलाई सहभागी गराउने अध्यक्ष गिरीले बताउनुभएको छ । अहिले उत्पादन भएको धान ढिकीमा कुट्ने र खिर बनाएर विद्यार्थीलाई खुवाउने योजना रहेको उहाँले जानकारी दिनुभएको छ ।