सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै सुष्मा घिमिरे ।

हेटौँडाः स्वर्गीय सुदर्शन घिमिरेको स्मृतिमा आगामी मंसिर ५ गतेदेखि हेटौँडामा यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०८० आयोजना हुने भएको छ । एफसी मुण्डियालको आयोजनामा हुने प्रतियोगिताको प्रथम पुरस्कार सुदर्शन घिमिरेकी श्रीमति सुष्मा घिमिरेले प्रायोजन गर्नुभएको छ ।

प्रथम पुरस्कार वापतको एक लाख ११ हजार एक सय ११ रुपैयाँ चेक सुष्मा घिमिरेले शनिबार आयोजक समितिलाई हस्तान्तरण गर्नुभएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा हेटौँडाका क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगितामा क्लबले देशभरका खेलाडीलाई अनुबन्धन गराउन सक्ने प्रतियोगिताका संयोजक सुदीप सिंह ठकुरीले जानकारी दिनुभएको छ । युवा खेलाडीलाई प्रोत्साहन गर्न उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक ठकुरीले बताउनुभएको छ ।

प्रतियोगितामा दोस्रो हुने टिमले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । एफसी मुण्डियालका प्रमुख सुविन घिमिरेले प्रतियोगिता आयोजनाका लागि करिब पाँच लाख रुपैयाँ लागत अनुमान गरिएको र प्रायोजकहरुसँग सहकार्यका लागि प्रयास भइरहेको जानकारी दिनुभएको छ ।