हेटौँडाः हेटौँडामा टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजनामा भएको हो । बुधबारदेखि हेटौँडा–४, हुप्रचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षता तथा नगर उपप्रमुख राजेश बानियाँकोे प्रमुख आतिथ्यमा भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख बानियाँले दुबै पक्षको खेलाडीहरुलाई सफलताको शुभकामना दिनुहुँदै सबैलाई नियमपूर्वक खेल खेल्न आग्रह गर्नुभयो । पहिलो खेलमा नवजीवन ज्योति क्रिकेट क्लबले टस जितेर कमाने क्रिकेट क्लबलाई व्याटिङको निम्तो दिएको छ । बुधबार नै दोस्रो खेल रेड सोइल क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्वबबीच हुनेछ ।
प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।