फाइल तस्वीर ।

हेटौँडाः २१ औं स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जेसीआई बसामाडीको आयोजनामा सुरु भएको जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिताको पहिलो खेलमा हेटौँडा–१० स्थित नारायणी कलेज विजयी भएको छ । यस्तै बुधबार बिहान भएको र दोस्रो खेलमा हेटौँडा–११ स्थित छहारी युवा सेवा समाज विजयी भएको छ ।

हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा नारायणी कलेजले हेटौँडा–८ कमानेलाई पराजित गरेको हो । नारायणी कलेजले कमानेलाई २५–१५ र २५–२१ को सोझो सेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा हेटौँडा–११ स्थित छहारी समूहले हेटौँडा–१९ वस्तीपुरलाई २–० को सोझो सेटमा पराजित गरेको छ । छहारीले हेटौँडा–१९ वस्तीपुरलाई २५–१६ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम बुधबार दिउँसो हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ६० हजार रुपैयाँ र उपविजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफि मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछ भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।