हेटौँडा–६, गौरिटार रंगशालाको फुटबल मैदानसँगै निर्माणाधिन प्यारापिटमा बसेर विद्यालयस्तरीय फुटबल हेर्दै दर्शक ।

हेटौँडाः हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी स्व. कृष्णप्रसाद दाहालस्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको दोस्रो खेलमा चन्द्रोदय माविले प्रगति माविलाई ४–१ गोलको फराकिलो अन्तरमा सहज जीत दर्ता गरेको छ । चन्द्रोदयको जीतमा कविर खड्काको नाममा ४ गोल रह्यो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा पाँच गोल सम्भव भएको हो । चन्द्रोदयका लागि ४३ औं मिनेटमा कविरले सुरुवाती गोल गरे । प्रगति माविका लागि प्रशान्त स्याङ्तानले ४७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, चन्द्रोदयका कविरले खेलको ५५ औं मिनेटमा दोस्रो गोल गरे भने ५७ औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको निर्धारित समय पूरा भएर इन्जुरी समयमा थप एक गोल गर्दै कविरले व्यक्तिगत चौथो गोल गर्दै आफ्नो विद्यालयलाई सहज जीत दिलाए । कविर म्यान अफ द म्याच घोषित भए ।

यसअघि बुधबार बिहान भएको पहिलो खेलमा हेटौँडा–१८ स्थित गोरक्षनाथ माविले तुलसीमेहर माविलाई पराजित गरेको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोरक्षनाथले ५–४ गोलअन्तरले तुलसीमेहरलाई हराएको हो । म्यान अफ द म्याच गोरक्षनाथ माविका मोहित कुमार बिश्वकर्मा घोषित भए । अन्तिम आठको प्रतिस्पर्धामा गोरक्षनाथले हेटौँडा–६ स्थित बंशगोपाल माविसँग सामना गर्नेछ ।

बुधबार दिउँसोको पहिलो खेल सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र जनजागृति माविबीच हुनेछ भने दोस्रो खेल बालज्योति मावि र जीएस निकेतनबीच हुनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका २९ वटा विद्यालयको सहभागिता रहेको छ । आगामी शनिबार फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।