हेटौँडाः लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्बरको मोटरसाइकललाई रोकी सुरक्षाजाँच गर्दा उनीहरुको सम्पर्कमा रहेको पिकअप गाडीबाट ७० केजी लागुऔषध गाँजा बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा सवार राक्सिराङ गाउँपालिका ५ का २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सन्देश र युबराजको मोवाइलबाट सम्पर्क गर्दा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिने प्रयास गरेको जनाएको छ ।
प्रहरीलाई देखेर भित्री सडकखण्डतर्फ भाग्ने क्रममा हेटौँडा–१५, बिक्रमचोकमा पिकअप गाडी छाडेर चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पिकअप गाडीबाट ७० केजी बराबरको ११ वटा पोकामा गाँजा बरामद गरेको जनाएको छ । प्रहरीले पिकअप गाडीका चालकको खोजी कार्य गरिरहेको जनाएको छ ।