गोरक्षनाथ माविको फुटबल टिम ।

हेटौँडाः हेटौँडामा जारी स्व. कृष्णप्रसाद दाहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत बुधबार बिहान भएको पहिलो खेलमा हेटौँडा–१८ स्थित गोरक्षनाथ माविले तुलसीमेहर माविलाई पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा गोरक्षनाथले ५–४ गोलअन्तरले तुलसीमेहरलाई हराएको हो । म्यान अफ द म्याच गोरक्षनाथ माविका मोहित कुमार बिश्वकर्मा घोषित भए । अन्तिम आठको प्रतिस्पर्धामा गोरक्षनाथले हेटौँडा–६ स्थित बंशगोपाल माविसँग सामना गर्नेछ । बुधबार बिहानको दोस्रो खेल चन्द्रोय मावि र प्रगति माविबीच हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी छ । बुधबार दिउँसोको पहिलो खेल सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र जनजागृति माविबीच हुनेछ भने दोस्रो खेल बालज्योति मावि र जीएस निकेतनबीच हुनेछ ।

प्रतियोगितामा मकवानपुर जिल्लाका २९ वटा विद्यालयको सहभागिता रहेको छ । आगामी शनिबार फाइनल खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुले समेत पुरस्कार प्राप्त गर्नेछन् ।