उपाधी विजेता आयोजक नागस्ती भेट्रान्स ए को सामुहिक तस्विर

हेटौंडाः हेटौंडामा भएको दोस्रो नागस्वती भेट्रान्स खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्स ‘ए’ले जितेको छ । शनिबार हेटौंडा–७, नागस्वतीस्थित नवज्योति मैदानमा भएको फाइनल खेलमा आयोजक नागस्ती ‘ए’ले आयोजक नागस्वती ‘बी’लाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि विजेता बन्न सफल भएको हो ।

खेलको निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएर खेल ट्राइब्रेकरमा पुगेको थियो । उपाधि बिजेता आयोजक ‘ए’ले २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक ‘बी’ले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

आयोजक क्लब ‘ए’बाट सुविन घिमिरे खेलको म्यान अफ द म्याच बन्न सफल भएका छन् । नागस्वती ‘ए’का दिलिप क्षेत्री उत्कृष्ट गोलरक्षक बन्न सफल भए । त्यस्तै, नागस्वती ‘बी’का कन्या सुब्बा गुरुङ उत्कृष्ट डिफेन्ड, नागस्वती ‘बी’का राजकुमार घिसिङ उत्कृष्ट मिडफिल्डर बन्न सफल भए । उत्कृष्ट फरर्वाड नागस्वती ‘ए’का दीपन राई, उत्कृष्ट प्रशिक्षक दिपन अर्याल बन्न सफल भए । विधागत उत्कृष्ट खेलाडीहरुले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । आयोजक ‘ए’का प्रकाश राना सर्वोकृष्ट खेलाडी बन्न सफल भएसँगै ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।