अभिभावक भेलाका प्रमुख अतिथि एवम् अतिथिहरु ।

हेटौंडाः हेटौँडा–१५, चुरियामाईस्थित वनदेवी आधारभूत विद्यालयको ३३औं अभिभावक भेला आज भएको छ । अभिभावक भेलाको अवसरमा विद्यालयलाई सहयोग गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको विद्यालयकी शिक्षक भावना सापकोटाले जानकारी दिनुभएको छ । वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

विद्यालयको वरपर वृक्षरोपण गर्न २५ हजार रुपैयाँसहित विद्यालयलाई टेलिभिजन सहयोग गर्नुभएका पुरनबहादुर जोशी, सामुदायिक विकास संस्था नेपाल र प्लान नेपाललाई सम्मान गरिएको हो । प्लान नेपाल र सामुदायिक विकास संस्था नेपालको सहयोगमा विद्यालयमा १ कक्षादेखि ३ कक्षासम्मका कक्षाकोठाको भुइँमा कार्पेट लगाउने, भित्तेलेखन गर्ने गरिएको छ । विद्यालयले विद्यालयको सुरक्षाकर्मीलाई सम्मान गर्नुका साथै र विद्यालय आएका शिक्षकलाई स्वागत गरेको छ ।

अभिभावक भेलामा गत वर्षका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । यस्तै विद्यालयको अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने विद्यार्थी, राष्ट्रियस्तरमा विभिन्न खेलहरुमा विजयी भएका विद्यार्थीलाई पनि सम्मान गरिएको शिक्षक सापकोटाले बताउनु भयो । अभिभावक भेलामा विद्यालयको आर्थिक एवम् प्रगतिविवरण प्रधानाध्यापक जयप्रकाश पोखरेलले प्रस्तुत गर्नुभएको थियो । यस्तै विद्यालयको गतिविधि र भावी योजनाको बारेमा पनि भेलामा छलफल भएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घिमिरेको पनि उपस्थिति रहेको थियो ।