गौरिटारः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारदेखि विद्यालयस्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–६, गौरिटारस्थित गौरिटार रंगशालामा भएको पहिलो खेलमा हेटौँडा–१९ स्थित निर्मल माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।
निर्मल माध्यमिक विद्यालयले हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । ज्योति माविको तर्फबाट उर्गेन रुम्बाले पहिलो हाफको २९ मिनेटमा १ गोल र दोस्रो हाफको ३५ औं मिनेटमा पेनाल्टीमा थप १ गोल गरेका छन् । तेस्रो गोल भने आत्मघाती भएको थियो ।
दोस्रो खेल बागमती गाउँपालिकाको देवकी माध्यमिक विद्यालय र हेटौँडा–३ स्थित सनसाइन बोर्डिङ स्कुलबीच भइरहेको छ । प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँ सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने आयोजकले जनाएको छ ।