उद्घाटन खेलको दृश्य ।

हेटौँडाः हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा शुक्रबारबाट बास्केटबल प्रतियोगिता सुरु भएको छ । म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीबीच नै प्रतियोगिता आयोजना गरेको हो । दोस्रो संस्करणको प्रतियोगितामा पुरुषतर्फ ६ वटा टिम सहभागी छन् भने महिलातर्फ २ वटा टिम सहभागी रहेको म्यानेजमेन्टका शैक्षिक निर्देशक दिपेश जोशीले जानकारी दिनुभएको छ ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ७ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला र पुरुष दुबैतर्फ पुरस्कार रकम समान गरिएको निर्देशक जोशीले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

बास्केटबल प्रतियोगिताका लागि बल हस्तान्तरण गर्नुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी ।

प्रतियोगिताको उद्घाटनको अवसरमा मकवानपुर जिल्ला खेलकुद विकास समितिले २ वटा बल समेत हस्तान्तरण गरेको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रिन्सीपल पुरनबहादुर जोशीले क्याम्पसका विद्यार्थीलाई जिल्ला हुँदै प्रदेश र राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउने बताउनुभयो । विद्यार्थीले मिहिनेत गर्नुपर्ने उल्लेख गर्नुहुँदै प्रिन्सीपल जोशीले खेलकुदको विकासका लागि म्यानेजमेन्टले प्रशिक्षक नै नियुक्त गरेको जानकारी गराउनुभयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले शिक्षासँगै खेलकुदमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टले उल्लेखनीय योगदान गरिरहेको बताउनुभयो ।

प्रतियोगितामा सहभागी टिम उद्घाटन समारोहमा सहभागी हुँदै ।

गत वर्षबाट सुरु भएको प्रतियोगितालाई थप व्यवस्थित बनाउने प्रयास भएको शैक्षिक निर्देशक दिपेश जोशीले बताउनुभएको छ । गत वर्ष हाफ कोर्टमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नुहुँदै निर्देशक जोशीले भन्नुभयो, “यस वर्ष हामीले फुल कोर्टमा प्रतियोगिता आयोजना गर्दैछौं । दुईवटा मात्रै भए पनि महिला टिम तयार पारेका छौं । प्रतियोगिताबाट हामी कलेजको बास्केटबल टिम तयार पार्छौं ।” म्यानेजमेन्टले लिजमा लिएको जग्गामा १५ लाख रुपैयाँ लगानी गरेर बास्केटबल कोर्ट तयार पारेको छ ।