हेटौँडाः चैनपुर जेसीज (प्रस्तावित) ले चाडपर्वको अवसरमा जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले बताएको छ । युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिनुभएको छ ।
“स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को रहँदै आएको छ । संस्थाले विभिन्न गतिविधि गर्ने क्रममा खुला फुटबलको आयोजना गर्न लागेका हौं”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसको तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिता राक्सिराङमा सञ्चालन गर्ने योजना थियो वर्षाका कारण हाँडीखोलामै गर्न लागेका छौं ।” मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक चैनपुर जेसीजका महासचिव रविन ढकालले बताउनुभएको छ ।
प्रतियोगिताका लागि कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीको संयोजकत्वमा समिति निर्माण गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने क्लब तथा संघ, संस्थाले २१ गते आइतबार दिउँसोसम्म टिम दर्ता गर्न सक्नेछन् । प्रतियोगिताका लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक अधिकारीले बताउनुभएको छ ।