कक्षा १० को सामाजिक विषयका सामग्री आदानप्रदान तथा सूचना र छलफलका लागि बनाइएको “हामी सामाजिक किरो” नामक मेसेन्जर समूहमा बिहान उठेर हेर्दा एउटा सन्देश आएको रहेछ । विद्यालयले प्रत्येक दोश्रो शुक्रबार पत्रिकामा छापिने गरी “हजुर’बा’को पालामा” स्तम्भ शुरु गर्ने तयारी गरेको रहेछ । हजुरा’बा’को पालाको वनभोज कस्तो हुन्थ्यो भनेर अन्तरवार्तामा आधारित रहेर लेख लेख्नुपर्ने थियो । विषय गज्जब लाग्यो । कौतुहलताले मलाई तुरुन्तै हजुरबुवाको छेउमा पुर्यायो । अनि हजुरबुबालाई सोधिहालेँ, “हजुरको पालामा वनभोज कस्तो हुन्थ्यो ?”
त्यतिबेला अहिले जस्तो पैसा तिरे सबै पाइने जमाना थिएन । पैसा पनि त्यति थिएन । वनभोजका लागि आवश्यक सबै सामानहरु जस्तै नुन, तेल, तरकारी, चामल, लगायत खानेकुरादेखि पकाउने भाँडाकुँडा जस्तै कराई, डाडु आदि सबै घरबाटै लिएर जाने कुरा बताउनुभयो । वनभोजमा सहभागी हुनेहरुले आफुलाई तोकेको खानेकुरा र भाँडा लिएर जानु पथ्र्यो । सबैले मिलेर काम गर्थे । कोहि दाउरा खोज्न लाग्थे । कोहि पानी लिन जान्थे । कोहि चुल्हो बनाउन थाल्थे । कोहि तरकारी केलाउँथे ।
वनभोजका लागि प्रायः वहाँहरु घर वरिपरिको जंगलमा जानुहुन्थ्यो । त्यतिबेला कुकर हुँदैनथ्यो कसौंडी र डेक्चीमा चामल पकाइन्थ्यो भनेर भन्नु हुँदा त अचम्मै लाग्यो । अहिले जस्तो म्युजिक सिस्टम उबेला कहाँ पाउनु, कहिँ कतै मादल मात्रै भए मज्जाको नाचगान भैहाल्थ्यो । तर त्यो पनि नहुँदा थाल ठटाएर गीत गाउँदै रमाइलो गरिन्थ्यो, उज्यालिँदै ति दिन सम्झनु भयो । यसरी बताई रहँदा हजुरबुवालाई आफ्ना पुराना दिनहरुको स्मरण भइरहेको थियो । वहाँको अनुहारमा एउटा छुट्टै सुखद् भाव पनि देखिँदै थियो । त्यतिबेलाको मित्रता गरिब, धनी, सानो–ठुलो केही हुँदैनथ्यो । सबैले सबैलाई उत्तिकै सहयोग गथ्र्यौं ।
वनभोज जानु धेरै दिन अघिदेखि योजना बनाउँथ्यौं । वनभोज जाने दिन बिहान सबेरै सबै साथी मिलेर सबै सामान बोकेर बाटो लाग्थ्यौं । फर्कँदा लगभग साँझ परिसकेको हुन्थ्यो । तर कहाँ गए ति दिनहरु आज ? हजुरबुवा केही भावुक हुनुभयो । हजुरबुवा लगातार बोलिरहनु भएको थियो । तर हजुरबुवाको कुरा सुनेर मेरो मनमा एउटा प्रश्न निरन्तर घुमिररह्यो । आखिर हामीले अहिले सबै सुविधा हुँदा मनाउने गरेको पिकनिक रमाइलो कि हजुर’बा’को पालाको वनभोज ?
कक्षा–१०, मकवानपुर बालविद्या सदन, हेटौँडा–१८