खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको विज्ञप्ति ।

हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले मंगलबार हेटौँडा बजार क्षेत्रका किराना पसल र होटल, रेष्टुरेन्ट र मिठाई पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा उपभोग गर्ने म्याद गुज्रेजका पेय पदार्थ, चियापति, मसलाजन्य पदार्थ र सुजी जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ ।

अनुगमनपछि मंगलबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयले जिल्ला प्रशासन कार्यालय, हेटौँडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्तावादी संस्थाका प्रतिनिधिको सहभागितामा अनुगमन भएको जनाएको छ । अनुगमन टोलीले साढे २ केजी चियापत्ति, १५ बोतल पेय पदार्थ, ३ केजी मसलाजन्य पदार्थ र ४ केजी सुजी जफत गरी नष्ट गरेको जनाएको छ । चाडपर्व सुरु भएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनको कार्य थालेको हो ।

नियमित बजार अनुगमनको आवश्यकता रहेको बताउँदै आए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित अनुगमन गर्न सकेको छैन । चाडपर्व नजिकिएसँगै खाद्यवस्तुको कृत्रिम अभाव हुने, मूल्यवृद्धि हुने समस्या छ । अहिले चिनीको मूल्य अस्वभाविकरुपमा वृद्धि भइरहेको छ । चिनी प्रतिकेजी १ सय २५ रुपैयाँमा विक्री भइरहेको छ ।