मकवानपुरः मकवानपुरको बकैया गाउँपालिकामा जारी बकैया खुला नकआउट फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आइतबार सेमिफाइनलका खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल समीकरण पूरा भएको आयोजक कोन्ज्योसोम अनलाइनका सञ्चालक सोयल लामाले जानकारी दिनुभयो ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा जीवनज्योति क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । जीवनज्योतिले पहरे युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यस्तै, आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा चौघडा फुटबल क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । चौघडाले ज्यामिरे युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगिता उपाधिका लागि आज सोमबार दिउँसो १ बजे जीवनज्योति र चौघडाबीच प्रतिस्पर्धा हुँदैछ । नकआउट चरणमा सुरु भएको प्रतियोगितामा २२ वटा टीम सहभागी रहेको थियो । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।