हेटौंडाः एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताअन्तर्गत् छनौट खेलमा मकवानपुरकी युवा बक्सिङ खेलाडी रोशनी घलानले स्वर्ण पदक जितेकी छन् । आइतबार ललितपुरको सात दोबाटोमा भएको ५० केजी तौल समूहमा एच–२० एथलेटिक्स क्लबकी वृषा श्रेष्ठलाई अंकको आधारमा पराजित गर्दै घलानले स्वर्ण पदक जितेकी हुन् ।

आगामी अक्टोबर २१ देखि नोभेम्बर ४ सम्म काजकिस्तानमा एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिता हुँदैछ । शुक्रबारदेखि जारी प्रतियोगितामा घलान जेनेक्स बक्सिङ, काठमाडौंकी आरती विकलाई हराउँदै सेमिफाइन प्रवेश गरेकी थिइन् भने नक्साल बक्सिङ, काठमाडौंकी दिव्या लिम्बुलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी थिइन् ।

युथ र जुनियरतर्फबाट २–२ जना नेपालको प्रतिनिधित्व गर्दै काजाकिस्तान जाने जनाइएको छ । विभिन्न तौल समूहमा विजेताहरुलाई मूल्यांकन गर्दै केहीलाई मात्र प्रतियोगितामा सहभागिताका लागि लैजाने तयारी छ । जसमा मकवानपुरकी घलान पनि छनौट हुने सम्भावना रहेको बुझिएको छ ।