हेटौंडाः मकवानपुर प्रहरीले नेपाली २३ लाख रुपैयाँभन्दा बढी विदेशी मुद्रासहित एक भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार पुर्वी चम्पारन पलङवा थाना पसौना–९ का ४० वर्षीय रम्भु दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार साँझ ६ बजेर ४५ मिनेटको समयमा हेटौंडा–१५ स्थित पुर्व–पश्चिम सडकखण्डमा विशेष सुचनाको आधारमा पशुपतिनगर र प्रहरी चौकीको टोलीले रातोमाटेबाट खटिएको चेकिङ टोलीले रातोमाटे चेक प्वाईन्टबाट प्रहरीले नेपाली २३ लाख ३८ हजार ५ सय ७१ रुपैयाँ विदेशी मुद्रासहित दासलाई पक्राउ गरेको हो ।
हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको माईक्रोलाई सुरक्षाजाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट लुकाई छिपाई ल्याएको अवैध मुद्राहरु बरामद गरेको हो । दासको साथबाट प्रहरीले युरो–८० थान (५० को दरले) ४ हजार, जापानी मुद्रा १ सय ३३ थान (१० हजारका दरले) १३ लाख ३० हजार र साउदी रियल १ सय १६ थान बरामद गरेको हो । दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।