गुगल फोटो ।

हेटौँडाः मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान ४ बजेको समयमा हेटौँडा–१५, स्थित रातोमाटे चेकपोष्टबाट २ जना र मकवानपुरको मनहरी गाउँपालिका–७ पेन्चेबाट १ जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

विशेष सुचनाको आधारमा प्रहरी र एपीएफको संयुक्त टोलीले हेटाँैडाबाट वीरगंज जादै गरेको ना १ ज ३६७७ नम्बरको सुमोलाई सुरक्षाजाँच गर्दा सुमोमा लुकाई ल्याएको लागुऔषधगाँजा ३० किलो बरामद गरेको थियो । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२४ का ३३ वर्षीय संगम गुरुङ, बाराका कबहि गोठ गाउँपालिका–२ का १५ वर्षीय दिपेश यादव रहेका छन् ।

यस्तै, बुधबार दिउँसो २ बजेको समयमा चैनपुरबाट मनहरी आउदै गरेको प्रदेश ३–०३–००१ ह ०१३२ नम्बरको अटोमा सवार पर्सा जिल्ला छिपरमाई गाउँपालिका–५ का ५४ वर्षीय रंभु राउत कुर्र्मिलाई प्रहरीले सुरक्षाजाँच गर्दा लुकाई ल्याएको ४ किलो लागुऔषध गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।