हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको बाइपास सडक शूल्क उठाउन ठेक्का लागेको छ । हेटौँडा उपमहानगरपालिकाले ई–बिडिङमार्फत काठमाडौंको सुदिपा ट्रेडिङ कम्पनि प्रालिको प्रस्तावलाई स्वीकृत गरी सम्झौता गरेको छ । सुदिपाले ४ करोड २८ लाख ८६ हजार रुपैयाँ सडक शूल्क उठाउने सम्झौता गरेको छ ।
राजमार्ग छेकेर बाइपास सडक प्रयोग गर्न बाध्य बनाउँदै सवारी साधनलाई कर असुली गरेको भन्दै विवादित समेत बनेको बाइपास सडक कर हेटौँडा उपमहानगरको प्रमुख आयस्रोतको रुपमा रहेको छ । चालु आर्थिक वर्षको ४८ दिन भने उपहानगरपालिकाले आफैँ सडक कर संकलन गरेको थियो । ४८ दिनमा उपमहानगरले ९० लाख रुपैयाँ कर संकलन गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले बाइपास सडक करमा झण्डै दोब्बर वृद्धि गरेको छ ।
विदेशी टेलर लहरी १० चक्के वा सो भन्दा बढीको कर पाँच सय रुपैयाँबाट बढाएर एक हजार रुपैयाँ बनाइएको छ । विदेशी बस, ट्रक १० चक्के भन्दा कम ६ चक्केसम्मका लागि तीन सय रुपैयाँबाट बढाएर छ सय रुपैयाँ बनाइएको छ । बिदेशी मिनी बस, ट्रकका लागि एक सय ५० रुपैयाँबाट बढाएर तीन सय रुपैयाँ बनाइएको छ । बिदेशी जीप, कारलाई एक सय रुपैयाँबाट बढाएर दुई सय रुपैयाँ बनाइएको छ । यस्तै स्वदेशी बस, ट्रक, मिनिबस तथा माइक्रोबसहरुका लागि २० रुपैयाँबाट बढाएर ३० रुपैयाँ बनाइएको छ ।
सुदिपा ट्रेडिङले अग्रिम भुक्तानीस्वरुप सम्झौता रकमको २५ प्रतिशत हुन आउने एक करोड ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । बाँकी रकम तीन किस्तामा असोज मसान्त, पुस मसान्त र जेठ मसान्तमा भुक्तानी गर्ने सम्झौता भएको हेटौँडा उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि गत आर्थिक वर्षको ६ महिनामा मित्र निर्माण सेवाले एक करोड ३२ लाख ७७ हजार रुपैयाँमा सडक कर उठाउन सम्झौता गरेको थियो ।