स्नुकर उपाधि विजेता अमर लामालाई पुरस्कृत गरिँदै ।

हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका पर्सामा भएको स्नुकर प्रतियोगितामा हेटौँडाका अमर लामाले उपाधि जितेका छन् । पर्सास्थित कानु स्नुकर क्लबले आयोजना गरेको प्रतियोगितामा हेटौँडास्थित लियम स्नुकर हाउसका खेलाडी अमर लामाले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

मकवानपुर जिल्लाबाट ९ जनासहित प्रतियोगितामा ६४ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा कानु स्नुकर हाउसका विकास खाती दोस्रो भएका छन् भने नारायणगढको एक्टिभ स्नुकर हाउसका रोशन खड्का तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुने खेलाडीले २० हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । गत बुधबारबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार सम्पन्न भएको लियम स्नुकर हाउसका सञ्चालक नितेश खण्डेलवालले जानकारी दिनुभएको छ ।