हेटौंडाः हेटौंडा–१७, हटियामा प्रस्तावित श्री जगद्गुरुत्तम चिकित्सालयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शनिबार भएको शिविरमा १ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा हाडजोर्नी तथा नशा स्वास्थ्य, दन्त स्वास्थ्य, सामान्य चिकित्सा र फिजियोथेरापी सम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।
मासिक रुपमा सञ्चालन हुने शिविरमा हेटौँडास्थित सञ्चो हस्पिटलका हाडजोर्नी तथा नशा स्वास्थ्य डा. आशुतोष दास, सामान्य चिकित्सा डा. सचिन दास, जस्मिन हस्पिटल प्रालि मायादेवी–१ की सञ्चालक फिजियोथेरापिस्ट डा. रोशनी नेपाली र पञ्चकोष डेण्टल हस्पिटल प्रालि जाजरकोटका सिडिसि डा. प्रेम बहादुर कार्कीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो । श्री राधा माधव समिति नेपाल, जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजना तथा सञ्चो हस्पिटल प्रालि हेटौँडाको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविर श्री राधा माधव समिति नेपालका केन्द्रिय सदस्य किरण शर्मा भण्डारीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका १८ का वडाध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा भएको हो ।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । विगतका दिनहरुमा संस्थाले शिविरहरु सञ्चालन गर्दै आएको छ । २०७६ पुस महिनादेखि सुरु भएको शिविर कोरोना अवधिभर रोकिएर पुनः सञ्चालन हुँदै ३०औं श्रृङ्खला अन्तर्गत शनिबारको शिविर सम्पन्न भएको हो । विगतमा विभिन्न विधामा आयोजित शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । अब आउने महिनामा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पुर्याउने योजना रहेको जनाइएको छ ।