हेटौंडाः नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको पूर्ण बैठक बसेको छ । शुक्रबार पार्टी गाउँपालिका कमिटी अध्यक्ष अरुण बलको सभाध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।
बैठकमा पार्टीले सुरु गरेको विशेष रुपान्तरण अभियानबारे समीक्षा भएको पार्टी गाउँ कमिटीका सचिव रहर थिङले बताउनुभयो । पार्टी विशेष रुपान्तरण अभियानअनुरुप गाउँकमिटी तथा सबै वडाको अभियान कमाण्डरहरुको उपस्थितिमा बैठक बसेको हो ।
तीन महिने अभियान अन्तर्गत् कार्यक्रमहरु वडा–वडामा कसरी चलिरहेको छ, कस्ता अप्ठ्याराहरु आइपर्यो, जनताका गुनासोहरु के देखिए भन्नेबारे छलफल भएको जनाइएको छ । बैठकमा बोल्नुहुँदै केन्द्रीय सदस्य सापकोटाले पार्टीले सुरु गरेको यो अभियान निकै प्रभावकारी हुने दाबी गर्नुभयो । यो अभियानमा जनताहरु आकर्षित भएको उहाँको भनाइ छ ।
बैठकमा पार्टी जिल्ला संयोजक सर्केश घलान, प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रिन, कमान सिं पाख्रिन र सुनिता खड्का गोलेलगायतको उपस्थिति रहेको थियो ।