हेटौँडाः मकवानपुर जिल्लाको भीमफेदी गाँउपालिकामा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समुहले बिहिबार दार पकेट क्षेत्र घोषणा गरेको छ । नौँ सय पचास वटा दारको बिरुवा रोप्दै दार संरक्षणका लागि डिभिजन वन कार्यालय राप्ती र मनहरीको आयोजनामा पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष हिदम लामाको उपस्थितिमा साढे दुई हेक्टर क्षेत्रमा र निजी जग्गाहरु गरी सामुदायिक वनको आसपासका जग्गाहरुमा दारका बिरुवा लगाइएको आचार्यले बताउनुभयो । मकवानपुर जिल्लालाई चिनाउने दारको ठेकी हाल बजारमा माग घटेको र दारको बोटहरु लोप हुँदै गएको कारण प्रतिष्ठा बचाउन सरंक्षण कार्य गरिएको हो ।
यो वर्ष पाँच लाखको बजेटबाट दार लगाउने, पुनः रोपण गर्ने, संरक्षणका लागि व्यक्ति राख्ने र फ्लेक्स बनाउने योजना रहेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पनि दार संरक्षण गर्ने अनुदान रहेको आचार्यको भनाई छ । यस्तै गत असार महिनामा छ सय पचास वटा दारको बिरुवा लगाइएको थियो । ति बिरुवाहरु राम्रोसँग हुर्कँदै छन् । अहिले वनमा दारका पुराना बोटहरु कम मात्रामा छन् । त्यसैको वरिपरि नयाँ बिरुवा लगाइएको हो । दारको काठबाट ठेकी र विभिन्न भान्सामा आवश्यक सामग्री बन्ने भएको हुँदा यसको संरक्षणबाट धेरै लाभ लिन सकिने हुन्छ । त्यसैले बुङ्गदल, चुनियाँ र भीमफेदीमा दार लगाउने कार्य भएको छ ।