हेटौंडाः शिक्षा विकास निर्देशनालय बागमती प्रदेश मकवानपुर, हेटौंडाको आयोजनामा माध्यमिक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता हुने भएको छ । निर्देशनालयले सोमबार सूचना जारी गर्दै बागमती प्रदेशभित्रका माध्यमिक तहका सबै विद्यालयलाई सहभागी हुन आग्रह गरेको हो ।

आगामी भदौ २२ गते परेको ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बागमती प्रदेशअन्तर्गत्का माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवद्र्धन विषयमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निबन्ध लेखेर पठाउन आग्रह गरिएको छ । एउटा विद्यालयबाट एकजनामात्र सहभागी हुन पाउने सूचनामा उल्लेख छ । सहभागी हुन चाहने इच्छुक विद्यार्थीले विद्यालयको सिफारिससहित २५ गतेभित्र निबन्ध पठाउनु पर्नेछ ।

५ सयदेखि एक हजार शब्दमा नबढाई निबन्ध लेख्नुपर्दछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगदसहित प्रमाणपत्रले आउँदो असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत गरिने बताइएको छ ।