हेटौँडाः हेटौँडा–८, कमानेस्थित माउण्ट एभरेष्ट बोर्डिङले बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । आइतबार माउण्ट एभरेष्ट बाल समूहको आयोजनामा हेटौँडा–१०, सिमाचोकमा नाटक प्रदर्शन गरेको हो । माउण्ट एभरेष्ट बाल समूहका कक्षा ४–१० सम्मका विद्यार्थीले नाटकमा कलाकारको भूमिका निर्वाह गरेका थिए ।
अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने, कम उमेरमा विवाह गर्दा पूण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास, छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ भन्ने कारणले, अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नभएकोले बालविवाह हुने गरेको सडक नाटकमार्फत सन्देश दिन खोजिएको थियो ।
नाटकमा ५३ जना बालबालिकाले कला प्रस्तुत गरेका थिए । नाटक प्रदर्शनी गर्दै बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउने, घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने, कमै उमेरमा सन्तान जन्माउँदा आमा र शिशु दुबैलाई उच्च जोखिम हुने, अपाङ्गता भएका सन्तान जन्मन सक्ने, बैवाहिक जीवन असफल भएका कारण हत्या, आत्महत्या, यातना जस्ता क्रुर र अमानवीय घटनाहरु पनि हुने गरेको, समाजमा विशेषगरी मधेशी समूदायमा बालविवाहको अहिलेसम्म पनि अन्त्य हुन नसकेको, बालविवाहबाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत बन्चित हुने जानकारी गराउँदै आउने दिनहरुमा बालविवाह रोकथाम विभिन्न सडकनाटक प्रस्तुती गर्दै, यस प्रकारको गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग लिने बताइएको थियो ।