भीमसेन महत ।

हेटौंडाः नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महतले नेपाली कांग्रेसका नेता सुध्रन आवश्यक रहेको बताउनुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव महतले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता, कानुनबमोजिम विधिको शासन, न्यायिक स्वतन्त्रताको विरासत बोकेको पार्टी भएको बताउँदै महतले पार्टीले २००७ साल, २०४६ साल, ०६२/०६३ को ऐतिहासिक राजनैतिक आन्दोलनको नेतृत्व गरेको बताउनुभयो । सशस्त्र जनयुद्धमा होमिएको माओवादी पार्टीलाई विभिन्न चरणको शान्तिवार्ता हुँदै लोकतान्त्रिक शासन प्रणालीमा ल्याउने पार्टी कांग्रेस नै रहेको उहाँले दावी गर्नुभयो ।

नेपाली कांग्रेसको १२ औं अधिवेशनले अघि सारेको ‘विकास र समृद्धि’को नारालाई कम्युनिष्टको नारा बनाई सत्ताको बागडोर सम्हाले पनि यो देश नेपाली कांग्रेसको विचारबाट परिचालित हुँदै आएको भन्दै नेपाली कांग्रेसमात्र लोकतन्त्रको रक्षक भएको महतले जानकारी दिनुभयो । पार्टीभित्र पछिल्लो समय देखिएको टकरावले विभिन्न समस्या आइपरेको उहाँले बताउनुभयो । पार्टीभित्र संघ र प्रदेशको निर्वाचनबाट विभिन्न आरोप र प्रत्यारोप लगाउने कार्य भएको भन्दै अन्तरघातको आरोप लागेको उहाँले बताउनुभयो ।