हेटौंडाः हिन्दू धर्मावलम्बीहरुको पवित्र चाड जनैपूर्णिमा अर्थात् ऋषितर्पणी र रक्षाबन्धन आज बिहीबार मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने जनैपूर्णिमा र रक्षाबन्धनसँगै श्रावण कृष्ण प्रतिपदाको दिन मनाइने गाईजात्रा पर्व पनि बिहीबार नै मनाइँदैछ ।
यस वर्ष तिथि घटबढ भएका कारण जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा बिहीबार एकै दिन मनाउन पञ्चाङ्ग निर्णायक विकास समितिले आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तहहरुले यी पर्व फरक दिन मनाउने निर्णय गरेसँगै समितिले विज्ञप्ति जारी गर्दै बिहीबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन आग्रह गरेको हो । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै समितिले आपत्ति जनाएको छ ।
हिन्दू धर्मावलम्बीहरुले बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागोस्, सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् । तागाधारीहरुले जनैपूर्णिमाको दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरु पुरोहितबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् ।
तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन छ । यस दिन मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाने गरिन्छ ।