प्रहरीले सार्वजनिक गरेको गरगहनासहित नगद चोरीको घटनामा संलग्न र चोरीका गहना खरिद गर्ने व्यक्ति ।

हेटौँडाः मकवानपुर प्रहरीले सुनका गरगहनासहित नगद चोरी गर्ने ४ जनाको गिरोहलाई पक्राउ गरेको छ । गत साउन ३० गते बिहान ११ बजेर २५ मिनेटको समयमा हेटौँडा–९, लामसुरेधापस्थित सुशीला साउदको घरबाट पाँच लाख बत्तिस हजार रुपैयाँ बराबरकोे चोरी भएको थियो ।

चोरी गर्ने समुहले नगद ३० हजार रुपैयाँ, सुनको सिक्री डेढ तोलाको १ थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्रा २ आनाको १ जोडी र घडी १ थान चोरी भएको भनी प्रहरीमा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीको अनुसन्धानबाट साउन २९ गते चोरी गर्ने उद्देश्यले ४ जनाको समुह २ वटा मोटरसाईकलमा काठमाडौंबाट हेटौँडा आएको खुलेको छ । चोरी गर्ने समुहले साउन २९ गते दिउँसोको समयमा बन्द रहेको घरहरु रेक्की गर्ने कार्य गरेको र ३० गते घर फोडी चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरी गरी बिक्री गरिसकेको अवस्थामा चोरीमा संलग्न र किन्ने व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक, पाँचपोखरी थाड्याल गाउँपालिका–७ का २८ वर्षीय भिमलाल लामा, सोही स्थानका २८ वर्षीय प्रदिप तामाङ, २९ वर्षीय आकाश तामाङ र चोरी भएको गरगहनाहरु खरिद गर्ने हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित रितु सुन पसलका संचालक ३१ वर्षीय राजेन्द्र रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मकवानपुर प्रहरी र काठमाडौंको बौद्ध प्रहरीको संयुक्त टोलीले काठमाडौंको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट प्रदेश ०२–०२८ प २४२२ नम्बरको २०० सीसीको एनएस पल्सर मोटरसाइकल र ओपो कम्पनीको मोबाईल १ थान, सामसुङ कम्पनीको मोबाईल १ थान, हवाई कम्पनीको मोबाईल १ थान र आईफोन मोबाईल १ थान बरामद गरेको छ ।

चोरी भएको सुनलाई गालेर बनाएको सुनको झुम्का १ जोर, रामबिला पत्थर झुम्का १ जोर, पानवाला झुम्का १ जोर, सोली पट १ जोर, धानको बाला झुम्का १ जोर, औँठी ४ थान, आधुनिक झुम्का १ जोर, आयताकार झुम्का १ जोर, पिजडा मुन्द्रा १ जोर र नगद २४ हजार २ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाकारी दिएको छ । घटनामा संलग्न अर्का एक व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमाथि डाँकासम्बन्धी कसुरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।