हेटौंडाः नेकपा माओवादी केन्द्रले देशव्यापी सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत् मकवानपुरमा पनि तयारी सुरु भएको छ । नेकपा माओवादी जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सर्केश घलानले अभियानका लागि मकवानपुरमा तयारी तीव्ररुपमा सुरु भएको बताउनुभयो ।
अभियानबारेमा छलफल गर्न आगामी मंगलबार पार्टी जिल्ला कमिटीको बैठक बस्ने अध्यक्ष घलानले बताउनुभयो । बैठकले जिल्लाका पालिकाहरुमा जिल्ला कमिटी सदस्यहरुको जिम्मेवारी हेरफेर गरी पठाउने उहाँले बताउनुभयो । यस्तै, वडाहरुमा पनि जिम्मेवारी हेरेफेर हुने उहाँले बताउनुभयो ।
तीन महिने अभियानमा सबै जनताको घरघरमा पुग्ने उहाँले बताउनुभयो । सरकारको कामबारे जनतासँग बुझ्ने, जनताहरुको गुनासो सुन्ने र सरकार र पार्टीले के गर्दा हुन्छ भन्ने सुझाव लिने उहाँले जानकारी दिनुभयो । यस्तै, पार्टी सदस्यता नवीकरण गर्ने, बाँकी कमिटीहरुलाई पूर्णता दिने, भातृ संठगनहरुलाई सशक्तरुपमा परिचालन गर्ने र सहिद परिवारलाई भेटेर अभियानलाई सफल बनाउने उहाँले बताउनुभयो । तीन महिने अभियान सकिएपछि जिल्लाबाट आएको रिपोर्टको केन्द्रीय बैठकमा समीक्षा हुने उहाँले बताउनुभयो ।
आगामी भदौ १६ गते देशव्यापीरुपमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गर्नुहुनेछ । कार्यक्रम मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ ।
माओवादी अभियानका लागि बकैयाले जिम्मेवारी तोक्यो
हेटौंडाः नेकपा माओवादी केन्द्रले देशव्यापी सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत् मकवानपुरको बकैया गाउँपालिकाले वडा तहमा जिम्मेवारी तोकेको छ । बिहीबार बसेको पार्टी पालिका कमिटीको बैठकले वडा तहमा जिम्मेवारी तोकेको पार्टी पालिका कमिटीका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो ।
अध्यक्ष खत्रीले ११ नम्बर वडाको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । यस्तै, १ नम्बर वडामा लोकनाथ गौतम, २ नम्बर वडामा विमल नेपाल, ३ मा ज्ञान सागर लामा, ४ मा परशुराम गौतम, ५ मा इन्द्र गौतम, ६ मा शंकर बानियाँ, ७ मा रामहरि गौतम, ८ मा नवराज चौलागाई, ९ मा भवनाथ तिमल्सिना, १० मा अर्जुन वाईबा र १२ नम्बर वडामा चन्द्रबहादुर न्यासुरलाई जिम्मेवारी तोकिएको छ ।