फाइल तस्वीर । ।

हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखा पाकेर आउने बिरामीहरु ५० प्रतिशतले कम भएका छन् । २ हप्ताअघि अस्पतालमा आएका बिरामीमध्ये ८० प्रतिशत बिरामीमा आँखा पाक्ने रोग देखिएकोमा अहिले ४० प्रतिशतमा मात्र उक्त समस्या भेटिने गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सक डा. सुनिल थकालीले जानकारी दिनुभयो ।

अस्पतालको तथ्याङ्कअनुसार मंगलबार उपचारका लागि आएका ४ सय २१ जनामध्ये १ सय ४१ जनामा आँखा पाक्ने समस्या देखिएको थियो । यस्तै, बुधबार उपचार सेवा लिन आएका ३ सय ५६ जनामध्ये १ सय ५१ जनामा आँखा पाक्ने रोगको समस्या देखिएको थियो । आँखा पाक्ने रोग धेरैजसो ४० वर्षभन्दा कम उमेरका मानिसमा देखिएको अस्पतालले जनाएको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकामा रोगको संक्रमण सबैभन्दा बढी देखिएको छ ।

बालबालिकामा ज्ञान नभएर र अभिभावकले समेत ध्यान नदिएर उनीहरुमा रोग धेरै बढेको डा. थकालीले बताउनुभयो । ‘केही दिन अघिसम्म अस्पतालमा आँखा पाक्ने समस्या लिएर आउने बिरामीको संख्या अत्यधिक भएकाले उपचारमा चाप परेको थियो’, डा. थकालीले भन्नुभयो– ‘आँखा नपाकेका बिरामीलाई पनि सर्ने सम्भावना हुने भएर त्यतिबेला हामीले अन्य बिरामीलाई सकेसम्म जँचाउन नआउनु, घरै बस्नु भनेका थियौं ।’ अहिले आँखा पाक्ने बिरामीको संख्या घट्दै गएकाले अन्य बिरामीलाई बोलाइरहेको डा. थकालीले जानकरी दिनुभयो ।

धेरै मानिसमा आँखाको सम्पर्कमा परेर सर्ने भ्रम रहेको उहाँले बताउनुभयो । भिडभाडमा गए, संक्रमित व्यक्तिले छोएको ठाउँमा छोएर हात नधोइकन आँखामा छोए, संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, तकिया प्रयोग गरे, संक्रमित व्यक्तिको नजिक गइरहे आँखा पाक्ने रोगबाट संक्रमण भइने डा. थकालीले बताउनुभयो । आाखा पाक्ने रोग कोही मानिसमा ३/४ दिनमै हराउँछ भने कोहीमा १० दिनसमेत लाग्न सक्ने उहाँको भनाइ छ । आँखा रातो हुनेबित्तिकै आँखा पाकेको नहुने डा. थकालीले बताउनुभयो । आँखा पाक्ने रोग घरायसी उपचारले कम नहुने, यसको संक्रमणबाट छिटो निस्किन बरफले आँखा सेक्नुपर्ने उहाँले सुझाव दिनुभयो ।