हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले वडाका टोलमा डेंगु अनुगमन गरेको छ । बिहीबार वडा अध्यक्ष विष्णुगोपाल महर्जनको नेतृत्वमा २ नम्बर वडाको बसपार्क एरियामा रहेका कवाडी कारखाना तथा ग्यारेजका पानी जम्ने स्थानमा सफा गर्न लगाउँदै अनुगमन गरेको हो ।
हेटौंडामा पछिल्लो समय डेंगु संक्रमण तिब्ररुपमा फैलँदै गएको छ । कुनै पनि स्थानमा तीन दिनभन्दा बढी फोहोर पानी जम्मा भएमा लामखुट्टेले फुल पारेर लार्भा बनाउने भएकाले वडामा डेंगु नियन्त्रणका लागि अनुगमन गरेको हो ।
यसअघि वडा कार्यालयले डेंगु नियन्त्रणका लागि वडाभित्रका टोल विकास संस्थालाई मेशिनसमेत वितरण गरेको थियो । अनुगमनको क्रममा वडा सदस्यहरु सुरज बर्तौला, ईन्द्र रिजाल, स्वास्थ्यकर्मी मञ्जु रिजाल, आमा समूहलगायत टोलीको सहभागिता रहेको थियो ।