बुढीचौरका किसानले टनेलभित्र फलाएको गोलभेँडा । फाइल तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरका किसानहरु तरकारी खेतीबाट मनग्य आयआर्जन गर्न सफल भएका छन् । स्थानीय एकता स्वाबलम्बन कृषि सहकारी संस्थाका व्यवस्थापक गुञ्जरत्न लुङ्वालकाअनुसार विगत तीन महिनामा बुढीचौरका किसानले डेढ करोड रुपियाँ बराबरको तरकारी निर्यात गरेका छन् ।

गाउँपालिकाका कृषिअधिकृत चन्द्रकान्त चौधरीले दिनुभएको जानकारी अनुसार बुढिचौरमा मुख्यरुपमा प्लाष्टिक टनेल भित्र बेमौसमी गोलभेडा खेती भइरहेको छ । वडाका १५० घरधुरी कृषकले टनेल बनाई गोलभेँडा, काउली, बन्दा, रायोको साग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ, स्कुस लगायतका तरकारीहरु उत्पादन गर्दै आइरहेका छन् ।

बुढीचौरका किसानहरुले तरकारी खेतिमा देखाएको रुची र उदाहरणीय कामलाई प्रोत्साहित गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बुढीचौरको भ्रमण गरी कृषकहरुले लगाएका तरकारी बालीको स्थलगत अवलोकन गर्नुका साथै एकता स्वाबलम्बन कृषि सहकारी संस्थाका पदाधिकारी तथा कृषकहरुसँग अन्तरक्रिया समेत् गर्नुभएको छ । कार्यक्रममा वडाध्यक्ष कुमार सिंह घिसिङ, वडा सदस्यद्वय गोकुल देबकोटा, गमला बिक, स्वास्थ्य शाखा प्रमुख, ध्रुवप्रसाद लामिछाने, सहकारी संस्थाका पदाधिकारीहरु र ५० जना कृषकहरुको सहभागिता रहेको थियो ।

बुढीचौरमा किसानले बनाएको टनेलको दृश्य ।

हेटौँडा बजारदेखि करिब ३० किलोमिटरको दुरीमा अवस्थित बुढिचौर समुन्द्री सतहदेखि १३०० मीटरसम्मको उचाइमा रहेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जैविक विविधतायुक्त, कृषि विकासको निकै सम्भावना बोकेको वडाका अधिकांश जनताहरु करिब ९० प्रतिशत कृषि पेशालाई मुख्य पेशा बनाई जिविकोपार्जन गरिरहेका छन् ।

अधिकांश युवाहरु रोजगारीको सिलसिलामा विदेशिने क्रम दिनानुदिन बढ्दै गइरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका–८, बुढिचौरमा कृषि पेशा, व्यवसायमा तुलनात्मकरुपमा युवा पुस्ताको बाहुल्यता रहेको देखिन्छ । युवाहरुले गाउँभरि टनेल बनाएर सेताम्मे बनाएका छन् र आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन् । सहकारी संस्थाका अध्यक्ष बालानन्द तिमिल्सिनाकाअनुसार बुढीचौरका कृषकले थुप्रै समस्या भोग्दै आइरहेका छन् । समयमा गुणस्तरीय कृषि सामग्री नपाउनु, रोगकिराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या, बजारीकरण लगायतका समस्याका बावजुद बुढीचौरका किसानहरुले आफ्नै पौरखमा खेतबारी हराभरा बनाएको अध्यक्ष तिमिल्सिना बताउनुहुन्छ ।