नगर प्रहरीको अवरोधपछि नगरपालिकाको परिसरबाहिरै प्रदर्शन गर्दै शिक्षकहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा धर्नामा बसेका शिक्षकलाई नगर प्रहरीले अवरोध गरेका छन् । संघीय सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयकमा सुधारका लागि दबावस्वरुप देशभरका पालिकामा धर्ना दिने कार्यक्रमअन्तर्गत आइतबार बिहान हेटौँडा उपमहानगरपालिका परिसरमा पुगेका शिक्षकलाई नगर प्रहरीले अवरोध गरेका हुन् ।

आइतबार बिहान नगरपालिकाको परिसरमा पुगेर धर्ना बस्दै गरेका शिक्षकलाई नगरपालिका परिसरबाहिर जान भन्दै नगरप्रहरीले शिक्षकले बोकेको व्यानर समेत खोसेका छन् । व्यानर खोसेर शिक्षकहरुलाई जबर्जस्ती धेकेल्न थालेपछि शिक्षकहरुले नाराबाजी गरेका थिए । शिक्षकको नाराबाजीपछि नगर प्रहरी केही हच्किएका थिए । “संसदमा पेश भएको विधेयकमा शिक्षक महासंघसँग संघीय सरकारले गरेका ३० बुँदे र ५१ बुँदे सहमति समावेश नभएको, विधेयकमा भएका कमिकमजोरीका विषयमा स्थानीय पालिकामार्फत संघीय सरकारलाई ध्यानाकर्षण गराउने भन्ने कार्यक्रमअन्तर्गत नगरपालिका पुगेका थियौँ”, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले भन्नुभयो, “पानी परिरहेको समयमा नगरपालिकामा ओत लागेर बसेका शिक्षकलाई नगरप्रहरीले नगरपालिका परिसरभन्दा बाहिर जान भन्दै जबर्जस्ती गरे । व्यानर नै खोसेर लगे ।”

नगर प्रमुख मीना कुमारी लामालाई ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघको टोली ।

नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले भने सेवाग्राही आउजाउ गर्न नै समस्या भएपछि नगरप्रहरीले हट्न मात्रै भनेको बताउनुभयो । “सेवाग्राही प्रवेश गर्ने बाटो नै नभएपछि नगर प्रहरीले हट्न मात्रै भनेको हो । सेवाग्राहीलाई पनि सहजरुपमा आउजाउ गर्न दिनु पर्यो नि ।” नगरप्रहरी प्रमुख ढकालले भन्नुभयो । शिक्षक दाहालले भने सेवाग्राहीलाई अवरोध पुग्ने अवस्था नरहेको दावी गर्नुभयो ।

केहीबेरको घम्साघम्सीपछि शिक्षकहरु छाता ओढेर नगरपालिका परिसरबाहिरै धर्नामा बसेका थिए । शिक्षकको धर्नालाई प्रभावित गर्ने उद्देश्यले नै नगर प्रहरीले नगरपालिकाको मूलगेट नै बन्द गरेको थियो । शिक्षक महासंघको नेतृत्वमा धर्ना बस्नुका साथै नगर प्रमुख मीनाकुमारी लामालाई शिक्षा विधेयकमा समावेश गर्नुपर्ने विषय र यसअघिका सम्झौताको दस्तावेज समेत हस्तान्तरण गरिएको छ । नगर प्रहरीको व्यवहारप्रति दुख व्यक्त गर्दै शिक्षकले नगर प्रमुख लामालाई गुनासो समेत गरेका छन् । नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईले शान्तिपूर्ण धर्नामा नगर प्रहरीले गरेको व्यवहार अस्वभाविक भएको भनी नगर प्रमुख मीना कुमारी लामालाई जानकारी गराएको बताउनुभयो ।

“हामी शान्तिपूर्ण धर्नामा थियौं । पानी पनि परिरहेको थियो”, अध्यक्ष हुमागाईले भन्नुभयो, “कार्यालय परिसर बाहिर जान भन्दै नगर प्रहरीले धकेल्न थालेपछि नारावाजी नै गर्न बाध्य भयौँ ।” शिक्षक महासंघको नेतृत्वमा मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा जिल्लास्तरीय धर्ना कार्यक्रम रहेको जानकारी दिनुहुँदै हुमागाईले भन्नुभयो, “हामी पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा प्रदेशको सामाजिक विकास मन्त्रालयमा पनि धर्ना दिन्छौं । हाम्रो सरोकारको विषयमा सम्बन्धित व्यक्तिलाई ध्यानाकर्षण गराउँछौं ।” आइतबार मकवानपुरका अन्य पालिकामा पनि शिक्षकले धर्ना दिएका छन् ।