हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले १९ वर्ष उमेर समूहका ३५ जना खेलाडीलाई प्रदेशस्तरीय छनोटमा सहभागी हुन काठमाडौं जाने खेलाडीलाई शनिबार विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई विदाई गरिएको हो ।
जिल्लाबाट छनोट भएका ४१ जना खेलाडीलाई बुधबारदेखि शुक्रबारसम्म हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको खेल मैदानमा प्रशिक्षणपछि शनिबार प्रदेश छनौट खेल्नका लागि विदाई गरिएको हो । जिल्लाबाट छनौट भएका ४१ जनामध्ये ६ जना खेलाडी भने सहभागी नभएको जनाएको छ । काठमाडौंमा आइतबार र सोमबार दुई दिन प्रदेशस्तरीय छनोट खेल हुनेछ । जिल्ला खेलकुद विकास समिति मकवानपरका अध्यक्ष वेश खड्गी, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, महासचिव छवी सुवेदी, कोषाध्यक्ष अमृत लुङ्बा लगायतका पदाधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।
प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनौट भएका सम्पूर्ण खेलाडीहरुलाई हौसला दिनुहुँदै अध्यक्ष खड्गीले सुन्दर भविष्यको कामना गर्नुभयो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आइतबार, सोमबार र मंगलबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङगशालामा खेलाडीहरुको क्षमता कौशलता लगनशीलताको आधारमा ४१ जना खेलाडी छनाएिका थिए । पिप्ले क्याम्पा रङगशालामा भएको पहिलो चरणको छनौट कार्यक्रममा १ सय २१ जना खेलाडीको सहभागिता रहेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम तयार पार्ने उद्देश्यले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनोटको कार्य गर्न लागेको हो । यसरी छनोट हुने नेपालको राष्ट्रिय टिमले काठमाडौंमै असोज ४ गतेदेखि १३ गतेसम्म हुने साफ च्याम्पियनसीपमा सहभागिता जनाउनेछ ।