शिक्षा विधेयकमा संशोधन गर्न सुझाव पेश गर्दाको तस्वीर ।

हेटौंडाः एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलामार्फत शिक्षा विधेयकमा संशोधन गर्न सुझाव दिएको छ । संघीय सरकारले प्रतिनिधिसभामा पेश गरेको शिक्षा विधेयकको मस्यौदामा शिक्षकको हितमा नभएकोले विधेयकमा आवश्यक परिमार्जन गर्न बर्तौलालाई र बर्तौलामार्फत प्रतिनिधिसभामा सुझाव पेश गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

सरकारले प्रतिनिधिसभामा पेश गरेको शिक्षा विधेयक पश्चगामी भएको र शिक्षकको हितमा नभएको अध्यक्ष दाहालले बताउनुभयो । सरकारले कानुन निर्माण गर्दा शिक्षकको प्रतिनिधिलाई जानकारी नदिई एकलौटी ढङ्गले निर्माण गरेको विषय संसदमा पेश गर्न प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले सुझावलाई सुझाव दिएको बताउनुभयो ।

सरकारले ल्याएको शिक्षा विधेयक शिक्षकको हितमा नरहेको उहाँले बताउनुभयो । शिक्षा विधेयकमा विद्यालयका कर्मचारी, इसिडी शिक्षक र तत्कालिन प्लस टु शिक्षक सम्बन्धी व्यवस्था संशोधन हुनुपर्ने दाहालको भनाई रहेको छ । यस्तै स्थानीय तहलाई शिक्षकलाई कारबाही गर्न सक्ने अधिकार संघीय सरकारले दिँदा कर्मचारी मार्कामा पर्ने भन्दै विधेयक शिक्षकको विपरित भएको दाहालले बताउनुभयो ।

छलफलको क्रममा विधेयक परिमार्जन गर्न आवश्यक रहेको विषयमा प्रतिनिधिसभा सदस्यलाई जानकारी गराएको दाहालले स्पष्ट पार्नुभयो । स्थायी कर्मचारीको हकमा निश्चित समयमा पद बढुवा गर्ने सहमति पहिले नै भएपनि त्यो कार्यान्वयन नभएकोले कार्यान्वयनमा ल्याउनु पर्ने र शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउन पर्ने विषयमा संसदमा आवाज उठाइदिन आफुले माग गरेको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य बर्तौलाले संसदमा शिक्षा विधेयकमा आवश्यक संशोधन प्रस्ताव पेश गर्ने आश्वासन दिनुभएको दाहालले बताउनुभयो । संगठनले ८१ बुँदे लिखित सुझाव पेश गर्ने बताउनुभयो ।