बैठकमा सहभागीहरु ।

हेटौँडाः नेकपा एमालेको हेटौँडा उपमहानगर कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी नगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता तथा पार्टीका पोलिटव्युरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यमा बैठक भएको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै पोलिटव्युरो सदस्य ज्ञवालीले अहिले देश बचाउन एमाले बलियो हुन आवश्यक रहेको बताउनुभयो ।

एमाले बलियो भएको बेला देशको विकास भएको बताउनुहुँदै उहाँले अहिले एमाले सरकारबाट बाहिर रहँदा जनताको पक्षमा काम हुन नसकेको दावी गर्नुभयो । गठबन्धनको सरकारबाट देश विकास हुन नसक्ने उहाँले भनाइ थियो । बैठकले पार्टीको अन्तरनिर्देशन परिपत्रअनुसारको काम गर्ने निर्णय गरेको पार्टी नगरकमिटीका सचिव बोल बहादुर कार्कीले जानकारी दिनुभयो । पार्टीको वार्षिक कार्ययोजना बनाएर के–के काम गर्ने भनेर निर्णय गरेको उहाँले बताउनुभयो ।

पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित बनाएर प्रशिक्षण दिने, युवालाई पार्टीमा आकर्षित गर्न युवासँग छलफल गर्ने र संवाद बढाउने, पार्टीले लिएको नीति, विचार, सिद्धान्त र कार्यक्रमको बारेमा जनताको घरघरमा गएर बताउने र प्रशिक्षणमूलक कार्यक्रम गर्ने निर्णय भएको छ । यो वर्ष पार्टी कमिटीको अधिवेशनलाई सम्पन्न गर्ने र विपत् व्यवस्थापनमा पार्टीपंक्ति परिचालित हुने बैठकले निर्णय गरेको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पौडेल, पार्टी प्रदेशको उपसचिव महेश कुमार बर्तौला, प्रदेश सदस्य रघुनाथ खुलाल र जिल्ला अध्यक्ष एका लाल श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।