हेटौँडाः हेटौँडा–१२ नम्बर वडाका व्यवसायीले बालबालिकालाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार कार्यवाहक वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठसहितको टोलीले गरेको अनुगमनको क्रममा पर्चा र पम्प्लेट बाँड्दै सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्रीवितरण नगर्न आग्रह गरेको थियो ।
व्यवसायीलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएसँगै बिक्री वितरण नगर्ने भएको हो । १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरिएको छ । यस्तै सार्वजनिकस्थल र विद्यालयको १ सय मिटर वरपर सुर्तीजन्य र २ सय मिटर वरपर मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न पाईदैन । यस्तै २० वर्षभन्दा कम उमेरमा विवाह र १८ वर्षभन्दा मुनिका बालबालिकालाई श्रममा नलगाउन आग्रह गरिएको छ । ६ वटा विद्यालयहरु वरपर भएका पसलहरुमा र विभिन्न मुख्य चोकहरुमा सुर्तीजन्य र मदिराजन्य पदार्थ बिक्रीवितरण नगर्न भनिएको हेटौँडा–१२ का बालमैत्री वडा सहजकर्ता प्रशंसा विश्वकर्माले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन समिति, बालअधिकार समिति र वडाको संयुक्त टोलीले घरदैलो गर्दै व्यवसायीहरुलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्रीवितरण नगर्न प्रतिबद्धता गराएको छ ।