हेटौंडाः मकवानपुरका स्थानीय तहको आन्तरिक आम्दानी एक अर्ब भन्दा बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा मकवानपुरका स्थानीय तहमा एक अर्ब ४ करोड ३३ लाख ५३ हजार रुपैयाँ आन्तरिक राजश्व आम्दानी गरेको छ । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ३१ करोड ३२ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । पालिकाले आर्थिक वर्ष २०७८/७९ मा ढुङ्गाबाट ३० करोड ७५ लाख ३९ हजार रुपैयाँ राजश्व आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा ५७ लाख ५२ हजार रुपैयाँ बढी आम्दानी गरेको छ ।

पालिकाले गिट्टी बालुवा बिक्रीबाट १७ लाख ४३ हजार, सार्वजनिक शौचालयबाट ४५ लाख १ हजार रुपैयाँ, भूमिगत ढल सेवा शुल्क ५९ हजार, कवाडी संकलन तथा बिक्री बापत ७३ लाख ३ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी ४ लाख ९५ हजार रुपैयाँ, नक्सापास दस्तुर १ करोड ११ लाख ५९ हजार रुपैयाँ, सिफारिश दस्तुर वापत ३ करोड १५ लाख २३ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर १४ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ९६ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको हेटौँडा उपमहानगरपालिकाले सम्पत्ति कर वापत ६ करोड ४४ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ । घरवाहाल कर ४ करोड ९० लाख ४५ हजार रुपैयाँ, बहाल बिटौरी कर २ करोड ४० लाख ९८ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर ४ करोड ७३ लाख ७४ हजार रुपैयाँ, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ३६ लाख ३९ हजार रुपैयाँ, व्यवसायीले भुक्तानी गर्ने कर १ करोड ७५ लाख ७२ हजार ३ सय ४४, ढुङ्ग गिट्टी बालुवा संकलन शुल्क २ करोड ६३ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, थाहामा नगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ५ करोड ६४ लाख १७ हजार रुपैयाँ राजस्व आम्दानी भएको छ । पालिकाले ढुङ्गा, गिट्टीबाट १ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ । प्रशासनिक तर्फ एकीकृत सम्पत्ति कर ६४ लाख १३ हजार रुपैयाँ, भूमि कर १ करोड १ लाख १६ हजार रुपैयाँ, घरबहालबाट १८ लाख ४९ हजार रुपैयाँ, बहाल बिटौरी कर (जग्गा अतिक्रमण गरी प्रयोग गरेको जग्गाको कर) बापत ३ लाख १ हजार रुपैयाँ, पर्यटन शुल्क वापत २१ लाख ६७ हजार रुपैयाँ, नक्सपास दस्तुर वापत २ लाख १२ हजार रुपैयाँ, सिफारिस दस्तुर ३८ लाख ५३ हजार रुपैयाँ, व्यवसाय कर २५ लाख ७२ हजार रुपैयाँ, अन्य आय शीर्षकमा ८४ लाख ७९ हजार रुपैयाँ र अन्य बिक्रीबाट ३८ लाख १३ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । थाहा नगरपालिकामा गत वर्षको तुलनामा राजस्व घटेको देखिन्छ ।

यस्तै, भीमफेदी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा २ करोड ६४ लाख रुपैयाँ राजश्व आम्दानी गरेको छ । पालिकाले भूमि कर वापत १३ लाख ७९ हजार रुपैयाँ, घरवहाल वापत ४ लाख ९४ हजार रुपैयाँ, पूर्वाधार सेवा उपयोग कर १ लाख रुपैयाँ, स्थानीय विकास शुल्क २१ लाख ३२ हजार रुपैयाँ, सिफारिस दस्तुर २५ लाख ३० हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता २ लाख ५० हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर वापत ७९ हजार रुपैयाँ, सम्पत्ति कर ६ लाख ६९ हजार रुपैयाँ, बहाल विटौरी २४ हजार रुपैयाँ, सरकारी सम्पत्तिको बहाल प्राप्त कर १ लाख ९१ हजार रुपैयाँ, प्रशासनिक सेवा शुल्क वापत ३ लाख १७ हजार रुपैयाँ, अन्य क्षेत्रको आय १ लाख २६ हजार रुपैयाँ र ढुङ्गा गिटी बालुवाबाट १ करोड ५२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पालिकाले २ करोड ५४ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यस्तै, कैलाश गाउँपालिकामा १ करोड १५ लाख बराबरको राजश्व आम्दानी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा पालिकाले १ करोड १४ लाख ८२ हजार रुपैयाँ राजश्व आम्दानी गरेको हो । पालिकाले प्रशासनिकतर्फ सम्पत्ति कर वापत ११ लाख ८ हजार रुपैयाँ, मालपोत कर १ लाख ७९ हजार रुपैयाँ, घरबाहाल कर वापत २३ हजार रुपैयाँ, परीक्षा शुल्क वापत २३ हजार रुपैयाँ, सिफारिस शुल्क ४ लाख ३८ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर २ लाख ८ हजार रुपैयाँ, प्रशासकीय सेवा शुल्क ६ लाख ४ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर १ लाख ८० हजार रुपैयाँ, अन्य दस्तुर ४ लाख २ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना वापत ६ लाख ४३ हजार रुपैयाँ, अन्य राजश्व वापत १७ लाख ९१ हजार रुपैयाँ गरी ५६ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, पालिकाले ढुङ्गा गिट्टीबाट ५८ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा पालिकामा १ करोड ४५ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो वर्षको तुलनामा राजश्व आम्दानी घटेको छ ।

बकैया गाउँपालिकाले दहत्तर बहत्तर (ढुङ्गा, गिटी, बालुुवा) जस्ता प्राकृतिक स्रोतबाट ८ करोड १ लाख ६४ हजार रुपैयाँ रकम राजश्व आम्दानी गरेको छ । पालिकाले सम्पत्ति तथा बहाल कर वापत १ लाख ९८ हजार रुपैयाँ, भूमि तथा मालपोत कर वापत १३ लाख ४८ हजार रुपैयाँ, घरबहाल कर ५ लाख ३५ हजार रुपैयाँ, अन्य आय ३ लाख ४४ हजार रुपैयाँ, नक्सा पास १ लाख २४ हजार रुपैयाँ, सिफारिस कर १० लाख ७० हजार रुपैयाँ र व्यक्तिगत घटना दर्ता शूल्कबाट ५ लाख २४ हजार रुपैयाँ गरी जम्मा ८ करोड ५१ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बागमती गाउँपालिकाले दहत्तर बहत्तरबाट १ करोड २९ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ । पालिकाले प्रशासनिकतर्फ सम्पत्ति बहाल तथा पट्टामा लाग्ने कर १ लाख ७४ हजार रुपैयाँ, भूमि तथा मालपोत कर २ लाख ४७ हजार रुपैयाँ, घरबहाल कर १ लाख ९२ हजार रुपैयाँ, नक्सापास दस्तुर १५ हजार रुपैयाँ, सिफारिस दस्तुर ३ लाख ८१ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर २ लाख ५० हजार रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट २३ हजार रुपैयाँ, अन्य दस्तुरबाट १ लाख ३८ हजार रुपैयाँ, व्यवसाय रजिष्ट्रेशनबाट १ लाख ८८ हजार रुपैयाँ, अन्य राजश्व १ लाख ८८ हजार रुपैयाँ गरी जम्मा २२ लाख ३ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

ईन्द्रसरोवर गाउँपालिकाले प्रशासनिकतर्फ सम्पत्ति बहाल तथा पट्टा बापत ८६ हजार रुपैयाँ, भूमि तथा मालपोत कर ११ लाख ४५ हजार रुपैयाँ, घरबहाल कर ७५ हजार रुपैयाँ, नक्सापास दस्तुर २ लाख ८२ हजार रुपैयाँ, सिफारिस दस्तुर ७ लाख ९७ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर एक लाख ६२ हजार रुपैयाँ, व्यावसायिक करबाट ७ लाख ५४ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ३ लाख ९५ हजार रुपैयाँ, न्यायिक दण्ड जरिवाना जफतबाट ३८ हजार रुपैयाँ, अन्य राजश्व ३९ लाख ६९ हजार रुपैयाँ गरी जम्मा ७७ लाख ७ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ । पालिकाले दहत्तर बहत्तरबाट २ करोड २३ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

राक्सिराङ गाउँपालिकाले दहत्तर बहत्तरबाट ३ करोड ६ लाख १५ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । प्रशासनिकतर्फ पालिकाले सम्पत्ति कर ५ हजार रुपैयाँ, मालपोत कर ८ लाख २६ हजार रुपैयाँ, घरबहाल कर ९ लाख ३७ हजार रुपैयाँ, अन्य कर ५७ हजार रुपैयाँ, सरकारी सम्पत्तिको बहाल वापत ८९ हजार रुपैयाँ, परीक्षा शुल्क ६५ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क १ लाख ८७ हजार रुपैयाँ, सिफारिस दस्तुर ४ लाख ४५ हजार रुपैयाँ, अन्य क्षेत्रको आय १२ लाख १२ हजार रुपैयाँ, न्यायिक दण्ड जरिवानाबाट २ लाख ७३ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना जफतबाट ६२ लाख ६८ हजार रुपैयाँ गरी ९ करोड ९ लाख ४० हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

मकवानपुरगढी गाउँपालिकाले दहत्तर बहत्तरको बिक्रीबाट प्राप्त हुने आय ४ करोड २२ लाख ७८ हजार रुपैयाँ रहेको छ । यस्तै प्रशासनिक तर्फ एकीकृत सम्पत्ति कर २ लाख ९ हजार रुपैयाँ, भूमिकर २ लाख ३४ हजार रुपैयाँ, मनोरञ्जन कर २ लाख रुपैयाँ, अन्य आय स्रोत ३४ लाख ९२ हजार रुपैयाँ, पर्यटन शुल्क ४० हजार रुपैयाँ, अन्य बिक्रीबाट प्राप्त रकम ५ लाख १२ हजार रुपैयाँ, नक्सापास दस्तुरबाट ४ लाख १६ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफत वापत २५ लाख ५८ हजार रुपैयाँ, प्रदुषण नियन्त्रण शुल्क ८० लाख रुपैयाँ, व्यवसाय कर ६ लाख ४५ हजार रुपैयाँ गरी पालिकाले एक करोड ५४ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तै, मनहरी गाउँपालिकाले आन्तरिक राजश्व अन्तर्गत दहत्तर बहत्तरबाट १८ करोड १५ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको छ । पालिकाले प्रशासनिक तर्फ घरजग्गा रजिष्ट्रेशन अन्तर्गत १ करोेड ६१ लाख ४४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करबाट ८ करोड ५७ लाख रुपैयाँ, सवारी साधन करबाट २ करोड २४ लाख १५ हजार रुपैयाँ, वन रोयल्टीबाट ६१ लाख ६३ हजार रुपैयाँ, एकीकृत सम्पत्ति करबाट ३३ हजार रुपैयाँ, मालपोत करबाट ३४ लाख ४० हजार रुपैयाँ, घरबहाल करबाट १८ लाख ८० हजार रुपैयाँ, बाल विटौरी कर २ लाख ४४ हजार रुपैयाँ, नक्सा पास दस्तुर ९ लाख ३५ हजार रुपैयाँ, सिफारिस दस्तुर ३३ लाख ५६ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर ३ लाख २२ हजार रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना ७० लाख ९३ हजार रुपैयाँ, प्रदुषण नियन्त्रण वापत ४२ लाख १८ हजार रुपैयाँ गरी ३३ करोड ५० लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ ।