अहिले वर्षाको समय छ । वर्षा को समयलाई आम मानिसको जनजीवनको हिसाबले असहज मानिन्छ । वर्षामा लगातार पर्ने पानीले जनजीवन प्रभावित हुन्छ । जताततै हिलो, चिप्लो भएपछि मानिसको दैनिक क्रियाकलापमा समेत प्रभाव पर्दछ । वर्षाकै कारण हुने बाढी, पहिरो, डुबान, कटान आदि प्राकृतिक प्रकोपको जोखिम छँदैछ । वर्षाको समय डेंगु संक्रमणको जोखिम हुने भएकाले अर्को त्रास थपिएको छ । पछिल्ला केही वर्षदेखि वर्षाको समयबाट डेंगु संक्रमण महामारीकै रुपमा देशव्यापी हुने गरेका कारण यसले धेरैलाई सताइरहेको छ । डेंगु संक्रमणकै कारण कयौं मानिसले ज्यान गुमाउनु परेको छ भने धेरैले दुःख, कष्ट सहनुपरेको छ । यसवर्ष पनि पूर्वी नेपालको धरानलगायत देशका विभिन्न भागमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि यसको संक्रमणबाट बच्न चासो र चिन्ता बढेको छ । विभिन्न तहका सरकारले पनि डेंगु संक्रमणबाट बच्न सचेतनामूलक कार्यक्रमसँगै अन्य रोकथामको प्रयास र संक्रमितहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पूर्वतयारीको कामहरु सुरु गरिसकेको छ ।
डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो (उज्यालोमा)मात्र टोक्छ । डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो । सन् २००६ मा चितवनमा डेंगुका रोगीहरु भेटिएका थिए । डेंगु संक्रमित भेटिएको करिब दुई दशकको अवधिमा यसको संक्रमण निकै तिब्र गतिमा भइरहे को छ । चार वर्ष अघि (२०७६ सालमा) महामारीको रुपमा देशव्यापी डेंगु संक्रमण फैलिएपछि यसको बारेमा धेरैले थाहा पाएका हुन् । त्यसपछिका दुई वर्ष कोभिड–१९ को महामारीले डेंगु संक्रमणलाई ओझेलमा पारेको भए पनि गत वर्ष यसको संक्रमणले थप व्यापकता पायो । साउनदेखि मंसिर–पुससम्म नै देशव्यापीरुपमा डेंगुको संक्रमण देखियो । लाखौं नेपालीहरु संक्रमित भए भने डेंगुकै कारण केहीको ज्यानसमेत गयो ।
सामान्यतयाः वर्षामा जताततै पानी जम्ने भएकाले लामखुट्टेलाई अण्डा पारेर सन्तान वृद्धि गर्न सहज हुने गर्दछ । वर्षाको समयमा जमेको पानी र नियमित पानी जम्ने सामग्रीहरुबाट डेंगु संक्रमण फैलने गरेको छ । डेंगु रोगको हालसम्म कुनै उपचार छैन । दशकौंदेखि डेंगु संक्रमण बढ्दै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा मान्यता दिएको छ । विश्वका झण्डै आधा जनसंख्या यसबाट प्रभावित हुने गरेको भए पनि हालसम्म यसको औषधी तथा उपचार विधि तयार भएको छैन । विश्व स्वास्थ्य संगठनले सन् २०१६ बाट ९ देखि ४५ वर्षसम्मका डेंगु संक्रमितका लागि भनेर तयार पारेको खोप पनि त्यति प्रभावकारी नपाइएको बताइएको छ । लामखुट्टेको टोकाइबाट मात्र डेंगु सर्ने भएकाले यसको रोकथामको सबैभन्दा प्रभावकारी उपाय भनेकै लामखुट्टबाट बच्ने हो । यो रोग सार्ने लामखुट्टे ग्रामीण भेगमा भन्दा शहरी भेगमा बढी पाइने गरेको छ ।
डेंगु संक्रमण हुँदा लामो समयसम्म उच्च ज्वरो आउने, टाउको/ढाड/जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, रक्तचाप घट्ने, विभिन्न भागबाट रगत आउनेजस्ता लक्षणहरु देखा पर्छन् । यसको संक्रमण हुन नदिन घर वरिपरि सरसफाइ गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, घरका झ्याल एवम् ढोकामा जाली लगाउने गर्नु पर्छ । डेंगु संक्रमणको सम्भावना रहेका क्षेत्रमा आवश्यक सचेतना प्रदान गर्नुका साथै लामखुट्टे र यसको बासस्थान खोजी गरी नष्ट गर्नु सबैभन्दा प्रभावकारी हुनेछ । विगतका वर्षहरुमा पनि डेंगु संक्रमणले महामारीको रुप लिएको हुँदा यस वर्ष त्यस्तो अवस्था आउन नदिन समयमै तीनै तहको सरकारले प्रभावकारी काम गर्नु आवश्यक छ । डेंगु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरेर यसको टोकाइबाट बच्न सचेतना दिँदादिँदै पनि डेंगु संक्रमण फैलिएमा हुनसक्ने समस्या समाधानका लागि पर्याप्त पूर्वतयारी हुनुपर्छ ।