हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अनावश्यक र परिणाम नहुने ठाउँमा खर्च नगर्न निर्देशन दिनुभएको छ । सोमबार कार्यालयमा भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले विनियोजन गरेको बजेट पचाउने खालको गतिविधि भएको बताउँदै कार्यालयका कर्मचारीहरुलाई परिणाममुखी काम गर्नसमेत निर्देशन दिनुभएको हो । कर्मचारीहरुले गत वर्ष भएका वार्षिक कार्ययोजना प्रस्तुत गरेपछि उहाँले उक्त कुरा भन्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको सुशासन सेवा केन्द्रको आफ्नो संरचना नभएकाले संरचना बनाउनुपर्नेमा जोड दिँदै हेटौंडा र काठमाडौंमा सुशासन सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्ने जानकारी दिनुभयो । सुशासन सेवा केन्द्रमा अनावश्यक कर्मचारी रहेको गुनासो आइरहेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले कर्मचारी कटौती गर्नेसमेत बताउनुभएको छ । सुशासन केन्द्रले तालिम दिने भएकाले भूमिका हेरेर तालिम दिनसमेत सुशासन केन्द्रका सचिव शिवराम गेलाललाई निर्देशन दिनुभयो ।
कर्मचारी नीति निर्माण गर्ने बेला नयाँ कार्ययोजना ल्याउन डराएको बताउँदै नीति निर्माण गर्दा पञ्चवर्षीय योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले बागमती प्रदेशले प्रदेश योजना बैंक स्थापना गर्न लागेको बताउँदै मातहतका निकायलाई तिब्र गतिमा काम गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका सम्पूर्ण करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजान पर्ने बताउँदै सचिवस्तरीय बैठक बसी कार्य अगाडि बढाई साउन मसान्तभित्र काम गर्नसमेत निर्देशन दिनुभयो । कार्यालयमा केही कर्मचारीले अनैतिक गतिविधि गरेको आफूले जानकारी पाएको बताउँदै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।