हेटौँडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मकवानपुरले माध्यमिक शिक्षा परीक्षा(एसईई), बिबिएस, बिबिएम, बिबिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । हेटौँडा—२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शुक्रबार सम्मान पत्रले सम्मानित गरिएको हो ।
सामुदायिक र संस्थागत विद्यालयबाट एसईई—२०७९ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २ सय २५ जना विद्यार्थीलाई सम्मानित गरिएको छ । यस्तै बिबिएस, बिबिएम र बिबिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ११ जना विद्यार्थीलाई सम्मानित गरिएको छ । एसईई परीक्षामा ‘ए’ र ‘ए’ प्लस ल्याउने विद्यार्थी, बिबिएस, बिबिएम र बिबिएको परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गरिएको हो ।
बिबिएबाट सर्बोकृष्ट नतिजा प्राप्त गर्दै नेपाल टप हुन सफल सृष्टि महर्जन, बिबिएसबाट प्रकाश गौतम लगायतलाई सम्मानित गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी मकवानपुर संयोजक अमृत बर्तौलाको सभाध्यक्ष तथा अनेरास्ववियु केन्द्रिय कमिटी सचिव सन्चिव धितालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर शंकरप्रसाद उपाध्याय, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य भुवन मैनाली,अनेरास्ववियु मकवानपुर वहुमुखी क्यामपस कमिटीका अध्यक्ष प्रसिद्व रेग्मी लगायतको उपस्थिति थियो ।