अन्तरक्रियाको क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रम सम्बन्धी न्युनतम मापदण्डबारे अन्तरक्रिया भएको छ । सोमबार हेटौंडामा विश्वास नेपालको आयोजना तथा शान्ति फाउन्डेसनको सहकार्यमा अन्तरक्रिया भएको हो ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले अहिले मनोरञ्जन तथा सत्कार सेवा हुने दोहोरी साँझ, डान्सबार, डान्स रेस्टुरेन्ट र होटलहरुको संख्या बढिरहेको बताउनुभयो । अहिले देशभर ८ लाखभन्दा बढी श्रमिकहरुले यस क्षेत्रलाई रोजगारीको थलो बनाइरहेको उहाँले बताउनुभयो । यस क्षेत्रमा युवा र किशोरकिशोरी कामदारहरुको संख्या बढिरहेको र कला संस्कृतिको जर्गेना गर्ने काम भएको उहाँले बताउनुभयो । यस क्षेत्रबाट राष्ट्रिय कलाकारहरुको उत्पादनमा र देशको अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको पनि उहाँले बताउनुभयो ।

देशमा व्यापक मात्रामा श्रम ओगटेको यो क्षेत्र व्यवस्थित रुपमा सञ्चालन नभइरहेको उहाँले बताउनुभयो । यस क्षेत्रसँग सम्बन्धित नीति नियमहरु पनि प्रभावकारी रुपमा लागू नभएको र श्रमिकहरुका संरक्षणको नभइरहेको उहाँको भनाइ थियो । यस क्षेत्रका श्रमिकहरुको श्रम तथा यौन शोषणमा बढी मारमा पर्ने, सर्वसाधारण नागरिकहरुले र ग्राहकको नजरमा यौनकर्मीको रुपमा हेर्ने गरेको उहाँले बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सबै स्थानीय तहहरुले यस क्षेत्रलाई मर्यादित, व्यवस्थित र नियम अनुसार सञ्चालन गर्न कार्यविधि नै बनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा संलग्न श्रमिकहरुलाई श्रम गरेवापतको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा दिनुपर्ने बताउनुभयो । जुनसुकै श्रम गरेपनि सबैले श्रमको सम्मान गर्नुपर्ने उहाँको भनाई छ । यस क्षेत्रमा हुने नकारात्मक क्रियाकलापलाई नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले यस क्षेत्रमा काम गर्नका लागि जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

यस्तै बाल कल्याण समाज मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय बाल सञ्जालका केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले पालिकाले नीति बनाएर यस क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिले मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको श्रमको मुल्याङ्कन नभएको खतिवडाको भनाई छ । अहिले यी क्षेत्रमा थोरै पारिश्रमिकमा धेरै समय काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै खतिवडाले भन्नुभयो, “अहिले समाजमा पीडितलाई नै लाञ्छना लगाउने काम हुन्छ । यसलाई रोक्न आवश्यक छ ।” अन्तरक्रियामा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीम तिमल्सिना, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुँडा कुमारी खड्काको पनि उपस्थिति रहेको थियो ।