नेपालमा दलीय राजनीतिक इतिहास धेरै पुरानो छैन । करिब ९ दशक लामो राजनीतिक इतिहास खासै समृद्ध पनि छैन । वि.सं १९९० को दशकबाट राजनीतिक दलको सूत्रपात भएको मुलुकको राजनीतिमा धेरै दलहरुको आगमन र अन्त्य भइसकेको छ । राजनीतिक दलहरुको संख्या जति धेरै छ, गर्व गर्नलायक र अनुकरणीय राजनीतिक नेतृत्वको संख्या भने निकै कम छ । मुलुकको राजनीतिमा आफ्नै विशिष्ट सिद्धान्त, नीति तथा नेतृत्व क्षमता भएका नेताको संख्या धेरै छैन । स्पष्टरुपमा भन्नुपर्दा मुलुकको राजनीतिमा राजनेताको अभाव अहिलेसम्म पनि कायमै छ । हुन त देशको शासन व्यवस्था सञ्चालनमा राजनीतिक दलहरुले प्रत्यक्ष सहभागिता जनाएको समयावधि पनि धेरै छैन । मुलुकमा राजनीतिक दलहरु अस्तित्वमा आएको करिब ९ दशक अवधिको आधाजति समयमात्रै राजनीतिक दलहरुले सत्ता सञ्चालन गर्न पाएका छन् । तर, सत्ताबाहिर रहँदा पनि आफ्नो राजनीतिक सिद्धान्त, नीति, योजना तथा नेतृत्वबाट आम नागरिकलाई प्रभावित पारेर देशको माटो सुहाउँदो राजनीतिक प्रणालीको विकास गर्नसक्ने राजनीतिक नेतृत्वको खडेरी परिरहेको छ ।

नेपाली राजनीतिमा विशेष योगदान दिएका सिमित नेतृत्वमध्ये वीपी कोइराला र पुष्पलाल श्रेष्ठको नाम अग्रपंक्तिमा आउँछ । दिवंगत भइसकेका यी दुई व्यक्तित्व नेपाली राजनीतिमा सुरुवातदेखि हालसम्म शासन सत्तामा हालीमुहाली गर्दै आएको नेपाली कांग्रे स र नेपाल कम्युनिष्ट पार्टीका स्थापनाकालका नेता हुन् । नेपालको राजनीतिका दुई शिखर पुरुष मानिने वीपी र पुष्पलालको स्मृति दिवस यतिबेला विभिन्न कार्यक्रम गरी मनाइएको छ । गोष्ठी, अन्तरक्रियादेखि रक्तदान, वृक्षरोपण, फलफूल वितरणजस्ता कार्यक्रम गरेर देशैभर यी दुई नेताको स्मृति दिवस मनाइएको छ । दुबै नेताहरुले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनीहरुले प्रतिपादन गरेको सिद्धान्त तथा नीतिका बारेमा चर्चा गरिएको छ ।

२०३९ साल साउन ६ गते वीपी कोइरालाको र २०३५ साल साउन ७ गते पुष्पलाल श्रेष्ठको निधन भएको थियो । उनीहरुको निधन भएको दिनको सम्झनामा साउन ६ गते वीपी स्मृति दिवस र साउन ७ गते पुष्पलाल स्मृति दिवस मनाउने गरिन्छ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले लामो समयसम्म नेपाली कांग्रेसको सभापति भएर पार्टी तथा नेपालको राजनीतिलाई हाँक्ने काम गरे । वीपीलाई अहिले पनि प्रजातन्त्रप्रेमी हरेक नेपालीले आदर र श्रद्धा गर्दछन् । आफू निर्वासित जीवन बिताइरहेको बेलामा राष्ट्र र राष्ट्रियता संकटमा पर्यो भन्दै ज्यानको पर्वाह नगरी राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केका वीपीलाई सच्चा प्रजातन्त्रवादी र इमान्दार नेताको रुपमा चिन्ने गरिन्छ । यस्तै, नेपालमा कम्युनिस्ट पार्टीमार्फत् जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका पुष्पलाललाई नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा चिन्ने गरिन्छ । पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर आफ्नो जीवनभर संगठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए ।

वीपी र पुष्पलालको स्मृति दिवस मनाइरहँदा ती नेताहरुबाट अहिलेको राजनीतिक दलका नेता तथा कार्यकर्ताले के सिके भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । उनीहरुको सिद्धान्त, नीति तथा आदर्श लाई अहिले को राजनीतिकर्मीहरुले अनुकरण गर्न नसक्नु दुःखद् विषय बनेको छ । पुष्पलाल र वीपी समकालीन नेपाली राजनीतिलाई सर्वाधिक प्रभाव पार्ने व्यक्ति हुन् । वीपीले प्रजातान्त्रिक समाजवादको नीति लिए भने पुष्पलाल त्यसभन्दा अगाडि बढेर साम्यवादको पक्षमा उभिए । जहानियाँ राणा शासन, निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थामा यी दुबैको विचार र सिद्धान्तमाथि दमन गरिए पनि अहिले मुलुकको राजनीति मूलतः यही विचारबाट निर्देशित भइरहेको छ । कमसेकम आफूलाई वीपी/पुष्पलालका अनुयायी बताउने कांग्रेस÷कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताले उनीहरुको विचार, सिद्धान्त र आदर्शको अनुकरण गर्नु आवश्यक छ ।