हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्ययोजनाबारे छलफल गरेको छ । शनिबार इन्द्रसरोवर गाउँपालिकामा भएको छलफलमा जिल्ला खेलकुदअन्तर्गत् प्रत्येक संघले एक जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिअन्तर्गत् फुटबल, क्रिकेट, भलिबल, रग्बी, कराँते र तेक्वान्दोलगायत करिब १० वटा खेलकुद संघ आवद्ध छन् । समितिले प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गर्ने भएको छ । संघले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितालाई १० हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म, प्रदेशस्तरको प्रतियोगितालाई २५ हजारदेखि ४५ हजार रुपैयाँसम्म र राष्ट्रिय प्रतियोगितालाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै, राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत् स्थानीय तह छनौट मंसिरभित्र सम्पन्न गर्न पालिकास्तरीय खेलकुद विकास समितिहरुसँग समन्वय गर्ने निर्णय भएको छ । जिल्ला प्रतियोगिता माघ १५ गतेभित्र सम्पन्न गर्ने र जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रदेश प्रतियोगितामा जानुअघि १५ दिन बन्दमा प्रशिक्षणमा राख्ने निर्णय भएको छ ।
तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि प्रदेशले तोकेको मितिमा जिल्ला छनौट गरी छनौट भएका खेलाडीलाई १५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरिएको छ । रेफी कोर्ष तालिम सञ्चालन गर्ने र लाइसेन्स भएका रेफ्रीहरु खटाई नवीकरणको व्यवस्था मिलाउने निर्णय भएको छ । समितिमा कार्यरत प्रशिक्षकहरुले प्रशिक्षण गरे नगरेको नियमित समिति र संघबाट अनुगमन गरिने भएको छ । विद्यालयहरुसँग समन्वय गरी प्रशिक्षणका लागि वतावरण बनाउने, फागुनमा अन्तरपालिका फुटबल प्रतियोगिता गर्ने र हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा विभिन्न प्रतियोगिता गर्ने निर्णय गरिएको छ ।
समितिले विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गर्ने भएको छ । राष्ट्रियस्तरीय अफिसियल प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको छ । टिम खेलका सम्बन्धमा सोहीअनुसार निर्णय गरेर पुरस्कृत गरिने निर्णय भएको छ ।
प्रदेश खेलकुद परिषद्द्वारा आयोजना हुने प्रतियोगिता तथा राष्ट्रपति रनिङशिल्ड राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित सम्मान गरिने भएको छ । राष्ट्रपति रनिङशिल्डको प्रदेश प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका दरले सम्मान गरिने भएको छ । खेलकुद संघहरुले गर्ने राष्ट्रिय खेलमा पदक विजेताहरुलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिने निर्णय भएको जनाइएको छ ।
विभिन्न संघको आयोजनामा हुने खेलमा जिल्लाबाट सहभागी हुने खेलाडीको एकातर्फी यातायात खर्च समितिले दिने निर्णय गरिएको छ । जिल्ला खेलकुुद विकास समितिको कुनै आयश्रोत नभएका कारण प्रदेश खेलकुद विकास परिषद्, जिल्ला समन्वय समिति र स्थानीय तहहरुमार्फत् आर्थिक स्रोतको व्यवस्थापन गरिने जनाइएकोे छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको सभाध्यक्षता तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला र निवर्तमान कार्यालय प्रमुख राजन दाहाललगायतको उपस्थिति रहेको थियो ।