नवनियुक्त प्रधानाध्यापक शिवप्रसाद बोलखे ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–७, माटोकोरीस्थित माटोकोरी आधारभूत विद्यालयको प्रधानाध्यापकमा शिवप्रसाद बोलखे नियुक्त हुनुभएको छ । उहाँले सोही विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्नु भएको हो ।

बोलखेले २७ वर्षकै उमेरमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको हो । उहाँ २० वर्षको उमेरदेखि शिक्षण पेसामा लाग्नुभएको थियो । उहाँले निजी विद्यालयबाट शिक्षण पेसा सुरु गर्नुभई केही समय सोही विद्यालयमा राहत शिक्षकको रुपमा विज्ञान विषय अध्यापन गराउनु भएको थियो । २०७६ सालमा स्थायी शिक्षकमा नियुक्त भई धादिङमा अध्यापन गराउनु भएका बोलखे केही समयअघि सरुवा भएर माटोकोरी आधारभूत विद्यालयमा आउनुभएको हो ।

आफैं पढेको विद्यालमा प्रधानाध्यापक हुन पाउँदा गर्व महसुस गरेको उहाँको भनाइ छ । माटोकोरी विद्यालयमा २ सय ५४ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा १२ जना शिक्षक कार्यरत छन् । आगामी दिनमा विद्यार्थीको सिकाइ उपलब्धी बढाउन जोड दिने र विद्यालयमा कक्षा १० सम्म पढाइ हुने वातावरण बनाउन लागीपर्ने उहाँको भनाइ छ । आधारभूत विद्यालयमध्ये पालिकाकै नमुना विद्यालयको रुपमा विस्तार गरेर लैजाने योजना रहेको बोलखेले बताउनुभयो ।