मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई प्रतिवादी बनाएर सर्वाेच्च अदालतमा रिट दायर भएको छ । जिल्ला प्रशासनमा परेको निवेदेमा लेनदेनको मुद्धा मिलाउने प्रयास गर्दा कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई नै प्रतिवादी बनाएर सर्वाेच्चमा रिट परेको हो ।

सरकारले आयोग गठन गरी जिल्ला प्रशासन कार्यालयहरुबाट मिटरब्याजीहरुको निवेदन संकलन गरिरहेको छ । यसै क्रममा शर्माले विनय धिताल र उनका आमा नारायणी धिताललाई जिल्ला प्रशासन कार्यालय बोलाई लेनदेनको मुद्धामा कागजमा सहीछाप गर्न लगाएको भन्दै विनयले सर्वाेच्चमा रिट दिएका हुन् । विनय धिताल र सुरेश आचार्यबीच लेनदेन भएको र सो मुद्धामा जिल्ला अदालतबाट गत फागुन ४ गते फैसला भएकोमा आचार्यले फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका छन् ।

धितालले गत असार ६ गते निशेधार्थ गरी जिल्ला प्रशासन कार्यालय, सहायक प्रमुख जिल्ला अधिकारी शर्मा, सुरेश आचार्य, बाबुराम घिमिरे, कृष्णप्रसाद पराजुलीलाई प्रतिवादी बनाइएका छन् । रिट परेपछि सर्वोच्चले लिखित जवाफ मागेकोमा जिल्ला प्रशासन कार्यालय र सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बुधबार नै लिखित जवाफ पेश गर्नुभएको छ । जिल्ला प्रशासनको कार्य क्षेत्रभित्र रहेर मेलमिलापको प्रयास गरेको भनि लिखित जवाफ पेश भएको बताइएको छ । अदालतले साउन २१ गतेका लागि धिताललाई उपस्थित हुन आदेश दिएको छ ।