हेटौँडाः बागमती प्रदेशको विभिन्न जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा भएको विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका–५ बुडोलडांडामा सुतेको ठाउँमा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खानिखोला गाउँपालिका–१ घर भई हाल बुडोलडांडामा डेरा गरी बस्ने लोकेन्द्र तामाङको २८ महिनाको छोरा फुर्साङ तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार राती ८ बजेको समयमा तामाङलाई खाना खुवाई सुताएकोमा राती १२ बजेको समयमा हेर्दा बालक बेहोस अवस्थामा फेला परेको थियो । बालकलाई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपामा लगिएकोमा डाक्टरले बाटोमानै मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको सागाचोकगढी नगरपालिका–८ पोखरेमा बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय राजु रम्तेल रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ९ बजेको समयमा रम्तेल घरबाट १ सय ५० मिटर पूर्वमा रहेको गोरेटोबाटोमा हिड्ने क्रममा बाटोबाट ५ मिटर तल खस्दा घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–६ सिमलगोलाईमा एकजना वृद्ध महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७१ वर्षीया कृष्णमाया खड्का रहेको प्रहरीले जनाएको छ । वृद्ध शनिबार बिहान ८ बजेको समयमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । वृद्धको शरिरमा चोटपटक नभएको र विषादीको वट्टाहरु केही फेला नपरेको प्रहरीले जनाएको छ ।